सिरहा-१ मा पुरानै प्रतिस्पर्धी- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरहा-१ मा पुरानै प्रतिस्पर्धी

भरत जर्घा मगर

सिरहा — सिरहा क्षेत्र नम्बर १ मा गठबन्धनका दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा छ । यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनले २०७४ को निर्वाचनबाहेक पाँच पटक संसदीय चुनाव लडिसकेका कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । चौधरी यस क्षेत्रका पाका उम्मेदवार मानिन्छन् ।

चौधरी २०४८, २०५१ र २०७० मा यसै क्षेत्रबाट सांसद निर्वाचित भइसकेका छन् । २०७४ मा कांग्रेसकै प्रदीप गिरी सांसद निर्वाचित भए । त्यतिबेला चौधरी समानुपातिकबाट सांसद बनेका थिए । चार पटक सांसद र एक पटक उद्योग राज्यमन्त्री बनिसकेका चौधरीलाई एमाले–जसपा र राप्रपा गठबन्धनका उम्मेदवार रामशंकर यादवले टक्कर दिएका छन् ।

२०४३ मा भगवानपुर पञ्चायतको प्रधानपञ्च, २०४८ र २०५४ मा कांग्रेसबाट तत्कालीन भगवानपुर गाविसको गाविस अध्यक्ष भइसकेका यादव कांग्रेस छाडेर २०५६ को संसदीय निर्वाचनमा मालेबाट उम्मेदवार बनेका थिए । त्यतिखेर उनी कांग्रेस उम्मेदवार उनै चौधरीका प्रतिस्पर्धी थिए । त्यतिखेर यादव र चौधरी दुवै पराजित भए । चौधरीको यो प्रत्यक्ष प्रतिस्पर्धा संसदीय इतिहासमा छैटौं पटक हो भने यादवको दोस्रो पटक । यस पटक चौधरी कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोसपा गठबन्धनबाट उम्मेदवार बनेका छन् भने यादव एमाले, जसपा, राप्रपा गठबन्धनका ।

२०४८, २०५१, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ मा निर्वाचनमा जित हासिल गरेकाले क्षेत्रलाई कांग्रेसले आफ्नो पकड मान्दै आएको छ । लहान नगरपालिका, भगवानपुर, सखुवानन्कारकट्टी, लक्ष्मीपुर पतारी गाउँपालिका र धनगढीमाई नगरपालिकाको दुई वडा रहेको यस क्षेत्रमा ४१ वडा पर्छन् । तीमध्ये गत स्थानीय तह निर्वाचनमा २२ वडामा कांग्रेस, तीन वटामा नेकपा (एकीकृत समाजवादी), एक वडा माओवादी केन्द्रले जितेको थियो । एमालेले नौ वटा वडा र जसपाले ६ वटामा जित हासिल गरेका छन् । सिरहा क्षेत्र नम्बर १ मा १ लाख ६ हजार २ सय १ मतदाता छन् ।

स्थानीय तह निर्वाचनमा यी क्षेत्रमा कांग्रेसले २० हजार ७ सय ८७, नेकपा एसले ७ हजार ४ सय ८६, माओवादी केन्द्रले ३ हजार ९ सय ९८ गरी वाम–लोकतान्त्रिक गठबन्धनले ३२ हजार २ सय ७१ मत प्राप्त गरेको तथ्यांकले देखाउँछ । त्यसैगरी एमालेले १६ हजार १ सय ५२ र जसपाले ११ हजार ४ सय ५१ गरी एमाले–जसपा गठबन्धनले २७ हजार ६ सय ३ मत प्राप्त गरेका थिए । जनमत पार्टी १ हजार २ सय २१ मत पाएको थियो ।उम्मेदवारहरूले लौकाहा–ठाडीदेखि–उदयपुरसम्मको सडक स्तरोन्नति,

बलान नदीमा तटबन्ध, शैक्षिक हब बन्दै गरेको लहानमा कृषि विश्वविद्यालय, सिँचाइको समस्या र कृषि क्षेत्रको समस्या समाधान गर्ने विकासे एजेन्डा जनतासमक्ष पस्केका छन् ।

प्रकाशित : कार्तिक ५, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्

हत्या आरोपमा पति र छोरा पक्राउ

हिरासतभित्र प्रहरीले करेन्ट लगाई पाइपले कुटपिट गरेको आरोप
भरत जर्घा मगर

सिरहा — हत्या घटना अनुसन्धानका क्रममा हिरासतमा रहेकी एक महिलालाई प्रहरीले चरम यातना दिएको खुलेको छ । मिर्चैया–१ को रामपुरविर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको गत असोज १५ मा भएको हत्या घटना अनुसन्धानका क्रममा उनकै बुहारी ३३ वर्षीया जीवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जीवछीलाई हिरासतभित्र प्रहरीले करेन्ट लगाई पाइपले संवेदनशील अंगसहित शरीरका अन्य भागमा कुटपिट गरेको आरोप छ । प्रहरीको यातनाले घाइते जीवछीलाई मिर्चैया अस्पतालमा उपचार गरिएपछि यातना दिएको सार्वजनिक भएको थियो । घाइते जीवछीको शरीरका विभिन्न अंगमा नीलडाम देखिएको अस्पतालले जनाएको छ ।

घटना सार्वजनिक भएपछि जीवछीलाई भेट्न आफन्त अस्पताल परिसरमै पुगेका थिए । उपचाररत जीवछीले हिरासतभित्र पुरुष प्रहरीले आफूलाई करेन्ट लगाउनुका साथै हात, पैताला, पाखुरा र शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको र महिला प्रहरीले तल्लो अंगमा ठोस वस्तु घुसारेर चरम यातना दिएको आफन्त रअधिकारकर्मीसमक्ष बताइन् । यातना दिँदै ओठमा स्टिच पिनले च्यापेपछि प्रहरीको दबाबमा हत्या घटनामा ससुरा मंगल साहको पनि संलग्नता रहेको भन्दै नाम टिपाएको उनले सुनाइन् । जीवछीलाई सोमबार हिरासतमुक्त गरिएको थियो ।

मानवअधिकार एलाइन्सका मधेस प्रदेश अध्यक्ष एवं मानवअधिकार सञ्जाल सिरहाका संयोजक देवराज पोखरेलले पीडित जीवछीको उपचारका क्रममा शरीरका विभिन्न भागमा नीलडाम देखिएकाले घटना संवेदनशील भन्दै निष्पक्ष छानबिनको माग गरे । ‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पाउनुपर्छ तर अनुसन्धानमा कसैलाई पनि चरम यातना दिइनु हुँदैन,’ उनले भने, ‘संविधानको मौलिक हकमा यातनाविरुद्धको हकले प्रत्याभूति गरेको नागरिक अधिकार स्थापित गर्न माग गर्दछु ।’जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाले घटनाबारे अनुसन्धान भइरहेकाले छानबिनपछि मात्रै यकिन भन्न सकिने बताए ।

यस्तो थियो घटना

गत असोज १४ मा खेततर्फ गएकी ६२ वर्षीया गुबदीदेवी त्यस दिन घर फर्किनन् । घर नफर्केपछि परिवारले प्रयागपुर घर भएकी आमाजु दिदी ललिता (छोरी) कहाँ बसिन् होला भन्ने सोचे । भोलिपल्ट बिहान ललितालाई फोन गर्दा आफ्नो घर नआएको बताइन् । बुहारी जीवछी र आमाजु दिदी ललिता खोज्न गए । आफ्नै खेत नजिकैको उखुबारीमा गुबदी मृत अवस्थामा भेटिइन् । प्रहरीले शव पोस्टमार्टम गराएपछि परिवारजनले दाहसंस्कार गरे । १३ दिनको काजकिरिया सकिएपछि प्रहरीले शनिबार बुहारी जीवछीलाई नियन्त्रणमा लियो ।

हिरासतभित्र जीवछीलाई चरम यातना दिइयो । यातनाको घटना सार्वजनिक भएपछि स्थानीयवासीले प्रहरीलाई कारबाहीको माग गर्दै सोमबार बिहान मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका थिए । प्रहरीले ६ राउन्ड अश्रुग्यास र दुई राउन्ड रबरको गोली प्रहार गरेको थियो ।

स्थानीयवासीको प्रदर्शन बढ्दै गएपछि सदरमुकामबाट तत्कालै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाको टोलीले घटना छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो । घटनाको छानबिन गर्न सोमबार साँझ नै जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ । टोलीमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका एक/एक जना अधिकृत तथा नागरिक समाजबाट दुई जना पर्यवेक्षक रहेको प्रजिअ कवारीले जानकारी दिए । टोलीलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

पति र छोरा प्रहरी नियन्त्रणमा

मिर्चैया प्रहरीले गुबदीदेवी साहको हत्या आरोपमा उनका पति ७० वर्षीय मंगल साह र छोरा (जीवछीका पति) ४० वर्षीय रामबाबु साहलाई पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी तिमल्सिनाले बताए ।

प्रकाशित : कार्तिक ३, २०७९ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×