हत्या आरोपमा पति र छोरा पक्राउ

हिरासतभित्र प्रहरीले करेन्ट लगाई पाइपले कुटपिट गरेको आरोप
भरत जर्घा मगर

सिरहा — हत्या घटना अनुसन्धानका क्रममा हिरासतमा रहेकी एक महिलालाई प्रहरीले चरम यातना दिएको खुलेको छ । मिर्चैया–१ को रामपुरविर्ताकी ६२ वर्षीया गुबदीदेवी साह हलुवाईको गत असोज १५ मा भएको हत्या घटना अनुसन्धानका क्रममा उनकै बुहारी ३३ वर्षीया जीवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

जीवछीलाई हिरासतभित्र प्रहरीले करेन्ट लगाई पाइपले संवेदनशील अंगसहित शरीरका अन्य भागमा कुटपिट गरेको आरोप छ । प्रहरीको यातनाले घाइते जीवछीलाई मिर्चैया अस्पतालमा उपचार गरिएपछि यातना दिएको सार्वजनिक भएको थियो । घाइते जीवछीको शरीरका विभिन्न अंगमा नीलडाम देखिएको अस्पतालले जनाएको छ ।

घटना सार्वजनिक भएपछि जीवछीलाई भेट्न आफन्त अस्पताल परिसरमै पुगेका थिए । उपचाररत जीवछीले हिरासतभित्र पुरुष प्रहरीले आफूलाई करेन्ट लगाउनुका साथै हात, पैताला, पाखुरा र शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको र महिला प्रहरीले तल्लो अंगमा ठोस वस्तु घुसारेर चरम यातना दिएको आफन्त रअधिकारकर्मीसमक्ष बताइन् । यातना दिँदै ओठमा स्टिच पिनले च्यापेपछि प्रहरीको दबाबमा हत्या घटनामा ससुरा मंगल साहको पनि संलग्नता रहेको भन्दै नाम टिपाएको उनले सुनाइन् । जीवछीलाई सोमबार हिरासतमुक्त गरिएको थियो ।

मानवअधिकार एलाइन्सका मधेस प्रदेश अध्यक्ष एवं मानवअधिकार सञ्जाल सिरहाका संयोजक देवराज पोखरेलले पीडित जीवछीको उपचारका क्रममा शरीरका विभिन्न भागमा नीलडाम देखिएकाले घटना संवेदनशील भन्दै निष्पक्ष छानबिनको माग गरे । ‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पाउनुपर्छ तर अनुसन्धानमा कसैलाई पनि चरम यातना दिइनु हुँदैन,’ उनले भने, ‘संविधानको मौलिक हकमा यातनाविरुद्धको हकले प्रत्याभूति गरेको नागरिक अधिकार स्थापित गर्न माग गर्दछु ।’जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमल्सिनाले घटनाबारे अनुसन्धान भइरहेकाले छानबिनपछि मात्रै यकिन भन्न सकिने बताए ।

यस्तो थियो घटना

गत असोज १४ मा खेततर्फ गएकी ६२ वर्षीया गुबदीदेवी त्यस दिन घर फर्किनन् । घर नफर्केपछि परिवारले प्रयागपुर घर भएकी आमाजु दिदी ललिता (छोरी) कहाँ बसिन् होला भन्ने सोचे । भोलिपल्ट बिहान ललितालाई फोन गर्दा आफ्नो घर नआएको बताइन् । बुहारी जीवछी र आमाजु दिदी ललिता खोज्न गए । आफ्नै खेत नजिकैको उखुबारीमा गुबदी मृत अवस्थामा भेटिइन् । प्रहरीले शव पोस्टमार्टम गराएपछि परिवारजनले दाहसंस्कार गरे । १३ दिनको काजकिरिया सकिएपछि प्रहरीले शनिबार बुहारी जीवछीलाई नियन्त्रणमा लियो ।

हिरासतभित्र जीवछीलाई चरम यातना दिइयो । यातनाको घटना सार्वजनिक भएपछि स्थानीयवासीले प्रहरीलाई कारबाहीको माग गर्दै सोमबार बिहान मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका थिए । प्रहरीले ६ राउन्ड अश्रुग्यास र दुई राउन्ड रबरको गोली प्रहार गरेको थियो ।

स्थानीयवासीको प्रदर्शन बढ्दै गएपछि सदरमुकामबाट तत्कालै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाको टोलीले घटना छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो । घटनाको छानबिन गर्न सोमबार साँझ नै जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ । टोलीमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका एक/एक जना अधिकृत तथा नागरिक समाजबाट दुई जना पर्यवेक्षक रहेको प्रजिअ कवारीले जानकारी दिए । टोलीलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

पति र छोरा प्रहरी नियन्त्रणमा

मिर्चैया प्रहरीले गुबदीदेवी साहको हत्या आरोपमा उनका पति ७० वर्षीय मंगल साह र छोरा (जीवछीका पति) ४० वर्षीय रामबाबु साहलाई पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी तिमल्सिनाले बताए ।

प्रकाशित : कार्तिक ३, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्

१ सय ५० घरलाई एउटै धारो

शंकर आचार्य

पर्सा — गाउँमा झन्डै एक सय ५० घरधुरी छन् । यतिधेरै घरका लागि गाउमा एउटा मात्र धारो छ । त्यही धारोमा पनि साँझ ५ देखि ६ बजेसम्म एक घण्टा मात्र पानी आउँछ । त्यसैले सबै घरधुरीले धीत मर्ने गरी पिउने पानी संकलन गर्न पाउँदैनन् ।

अन्य गाउँमा जस्तो बटुवाले पानी माग्दा वा घरमा आउने पाहुनालाई सहजै पानी दिन स्थानीय सक्दैनन् । आफैंलाई पानी नपुग्ने अवस्था छ । यो पीडा हो, ठोरी गाउँपालिका–३ ब्रह्मानगर टोलवासीको । टोलमा रहेको एउटा समरसेवल पम्प चलाएर गाउँलेले खानेपानीको जोहो गर्छन् ।स्थानीय ४५ वर्षीय भरत श्रेष्ठ आफूले बाल्यकालदेखि नै यो पीडा भोग्दै आएको बताए । ‘चार वर्षअघिसम्म टोलमा रहेको एउटा पम्पको मोटर २ घण्टाका लागि चलाइन्थ्यो, अहिले मोटर जल्ने डरले स्थानीयको सहमतिमै १ घण्टा मात्र चलाइन्छ,’ उनले भने, ‘१ सय ५० घरधुरीले यो पम्पबाट १ घण्टामा कति पिउने पानी संकलन गर्न सक्छन् होला ?’

पम्पको व्यवस्थापन र सञ्चालन स्थानीयले आफ्नै साधनस्रोत जुटाएर गर्दै आएका छन् । उनले आफूहरूले वर्षौंदेखि टोलको खानेपानीको समस्या समाधान गर्न विभिन्न दलका नेताहरूलाई आग्रह गर्दै आए पनि पूरा नभएको गुनासो गरे । ‘नेताहरू फेरि भोट माग्न हाम्रो घरदैलो धाउन थालेका छन्,’ उनले भने, ‘हामीले एक स्वरमा पहिला टोलको खानेपानीको समस्या समाधान गर्नुस् अनि भोट माग्न आउनुस् वा जितेपछि अविलम्ब समस्या समाधानको प्रतिबद्धता जनाउनुस् भनी उम्मेदवारहरूलाई सचेत पारिरहेका छौं ।’

अर्का स्थानीय भरत विश्वकर्माले टोलमा १ सय ५० मिटर तलसम्म चापाकलको पाइप गाड्दा पनि पानी नआउने समस्या रहेको बताए । ‘यहाँको भौगोलिक बनोटको कारण सम्भवतः जमिनमुनि पानीको सतह निकै तल हुनुपर्छ,’ उनले भने, ‘अब हामी उधारो भोट दिँदैनौं, खानेपानीको समस्या समाधान गर्ने गतिलो प्रतिबद्धता उम्मेदवारबाट चाहन्छौं ।’ पिउने पानीका लागि पम्पको धारामा आश्रित रहे पनि आफूहरूको नुहाउने, लुगा धुनेलगायत दैनिकीदेखि वस्तुभाउलाई खुवाउने पानीका लागि अझै पनि कुलोकै भर पर्नुपरेको विश्वकर्मा बताउँछन् ।

‘ओडार खोलाबाट ल्याएको कुलोको पानीमै पूर्ण निर्भर छौं,’ उनले भने, ‘त्यही कुलोको पानी पनि वर्षायाममा धमिलो हुने, वन्यजन्तुले फोहोर पार्ने समस्या छ ।’ खानेपानीको समस्या समाधान गर्न टोलमा कम्तीमा आधा दर्जन यस्ता पम्प जडान भइदिए राहत हुने उनले बताए ।

प्रकाशित : कार्तिक ३, २०७९ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×