२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रहरी हिरासतभित्र महिलालाई यातना

हत्या आरोपमा पति र छोरा पक्राउ
भरत जर्घामगर

सिरहा — हत्याको अनुसन्धानका क्रममा हिरासतमा रहेकी एक महिलालाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । मिर्चैया नगरपालिका–१ स्थित रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाइको गत असोज १५ गते भएको हत्या अनुसन्धानको क्रममा उनकै बुहारी ३३ वर्षीया जिवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरी हिरासतभित्र महिलालाई यातना

नियन्त्रणमा लिइएकी जिवछीलाई अनुसन्धानको क्रममा हिरासतभित्रै प्रहरीले करेण्ट लगाई पाइपले संवेदनशील अंगसहित शरीरका अन्य भागमा यत्रतत्र कुटपिट गरेको खुलेको छ । प्रहरीको चरम यातनाले घाइते भएकी जिवछीलाई मिर्चैया अस्पतालमा उपचार गरिएपछि यातना दिएको सार्वजनिक भएको थियो । अस्पतालले घाइते जिवछीको शरीरका विभिन्न अंगमा निलडाम देखिएको जनाएको छ ।

घटना सार्वजनिक भएपछि जिवछीलाई भेट्न आफन्त अस्पताल परिसरमै पुगेका थिए । उपचाररत जिवछीले हिरासतभित्र पुरुष प्रहरीले आफूलाई करेण्ट लगाउनुको साथै हात, पैताला, पाखुरा र शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको र महिला प्रहरीले तल्लो अंगमा ठोस वस्तु प्रवेश गराएर चरम यातना दिएको आफन्त, सञ्चारकर्मी र अधिकारकर्मीसमक्ष बताइन् ।

यातनाकै क्रममा प्रहरीले आफ्नो ओठमा स्टिच पिनले च्यापेपछि जबर्जस्ती हत्यामा ससूरा मंगल साहको नाम टिपाएको यातनाका पीडित जिवछीले बताइन् । जिवछीलाई सोमबार हिरासतमुक्त गरिएको थियो ।

मानव अधिकार एलाइन्सका मधेस प्रदेश अध्यक्ष एवं मानव अधिकार सञ्जाल सिरहाका संयोजक देवराज पोखरेलले पीडित जिवछीको उपचारका क्रमममा शरीरका विभिन्न भागमा नीलडाम देखिएकाले प्रकृति संवेदनशील रहेकोले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । ‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पाउनुपर्छ,’ उनले भने, ‘तर अनुसन्धानमा कसैलाई पनि चरम यातना दिइनु हुँदैन । संविधानको मौलिक हकमा यातना विरुद्धको हकले प्रत्याभूति गरेको नागरिक अधिकार स्थापित गर्न माग गर्छु ।’

यस्तो थियो घटना

गत असोज १४ गते खेततर्फ गएकी ६२ वर्षीया गुबदीदेवी त्यस दिन घर फर्किनन् । घर नफर्केपछि भोलिपल्ट बुहारी जिवछी र आमाजु दिदी ललिता खोज्न जाँदा आफ्नै खेत नजिकैको उखुबारीमा गुबदी मृत अवस्थामा भेटिइन् ।

आमाजु दिदी ललिताको प्रयागपुरमा घर भएकाले छोरीकहाँ बसिन् होला भन्ने सोचेर भोलिपल्ट बिहान ललितालाई फोन गर्दा आफ्नो घर नआएको बताएपछि ललिता र जिवछीले खोजी गरिन् । खोजीका क्रममा गुबदीको शव उखुबारीमा भेटियो । शव भेटिएपछि पोष्टमार्टम गरी परिवारजनले दाहसंस्कार गरे । १३ दिनको काजक्रिया सकिएपछि प्रहरीले शनिबार बुहारी जिवछीलाई नियन्त्रणमा लियो ।

प्रहरी हिरासभित्र जिवछीलाई चरम यातना दिइयो । यातना दिएको घटना सार्वजनिकि भएपछि स्थानीयवासीले यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै सोमबार बिहान मिर्चैयास्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका थिए । प्रहरीले ६ राउन्ड अश्रुग्यास र दुई राउन्ड रबरको गोली प्रहार गरेका थियो ।

स्थानीयवासीको प्रदर्शन बढ्दै गएपछि सदरमुकामबाट तत्कालै सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमल्सिनाको टोलीले प्रदर्शनकारी र आफन्तसँग छलफलमा घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो ।

घटनाको छानबिन गर्न सोमबार साँझ नै जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत हरिकिशोर चन्द्रवंशीको नेतृत्वमा छानबिन टोली गठन गरिएको छ । छानबिन टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका एक/एक जना अधिकृत तथा नागरिक समाजबाट दुई जना पर्यवेक्षक रहेको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । टोलीलाई पाँच दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

पति र छोरा पक्राउ

मिर्चैया प्रहरीले गुबदीदेवी साहको हत्या आरोपमा उनकै पति ७० वर्षीय मंगल साह र छोरा (जीवछीकी पति) ४० वर्षीय रामबाबु साहलाई पक्राउ गरेको छ । उनीहरुलाई अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित : कार्तिक १, २०७९ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?