१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीरगन्जका भन्सारमा छैन चाडपर्वको रौनक

शंकर आचार्य

पर्सा — तिहार र छठ जस्ता मधेसका प्रमुख चाडपर्व नजिकिए पनि वीरगन्जका २ वटा भन्सारमा यी चाडपर्वको चहलपहल देखिएको छैन । अघिल्ला वर्षहरूमा तिहार र छठ पर्व नजिकिँदा लत्ताकपडा, दिपावलीको बत्ती, मदिरा, तास, जुत्ता, ड्राइफुड लगायत वस्तुहरूको आयात बढ्दा वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सारमा चहलपहल बढ्ने गर्थ्यो । यस वर्ष भने तिहार नजिकिँदा पनि त्यस्तो चहलपहल छैन ।

वीरगन्जका भन्सारमा छैन चाडपर्वको रौनक

वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी नाकाबाट समग्र आयात नै घटेको छ । चौकी सञ्चालक इन्टरमोडल यातायात विकास समितिको कार्यालयको तथ्यांक अनुसार सोमबार आईसीपी परिसरमा जम्मा ५ सय ५७ मात्र मालवाहक सवारी साधन रहेका छन् । आइतबार ३ सय ६१ र शनिबार २ सय ९३ वटा मात्र मालवाहक सवारी आईसीपी परिसरमा रहेका थिए ।

यसबाहेक ठूलो संख्यामा नयाँ सवारी साधन आईसीपी परिसरमा थन्किएर बसेका छन् । सोमबार ५ सय ८९ नया जिप, कार,भ्यान, १ हजार २ सय ९ बस ट्रकका चेसिस, १३ ट्याक्टर, ९ टेम्पो गरी १ हजार ८ सय २७ नयाँ सवारी साधन रहेका छन् ।

इन्टर मोडलका अपरेसन इन्चार्ज जीतेन्द्र रसाइलीले सवारी साधन आयातकर्ताले आफूले आयात गरेका सवारी साधन जाँचपास गराइ नलग्दा यसरी ठूलो संख्यामा सवारी साधन आईसीपी परिसरमा थन्किएको बताए ।

‘एकातिर कतिपय वस्तुको आयातमा रोक लगाइएको छ, एलसी खोल्नमा कडाइ गरिएको छ,’ उनले भने, ‘अर्कोतिर बैंकले सवारी साधन खरिदमा कर्जा दिन बन्द गरेपछि आयातकर्ताले नयाँ सवारी साधन पनि यहाँबाट लैजान सकेका छैनन्, अधिकांश आयातकर्ताले ग्राहकले नयाँ सवारी साधन बुक गरेपछि मात्रै यहाँबाट छुटाइ लैजाने गरेका छन् ।’

वीरगन्ज नाकाबाट सर्वाधिक आयात हुने र राजश्वमा योगदान गर्ने वस्तु पनि नयाँ सवारी साधन र इन्धन हो । सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष कुमार न्यौपानेले पनि अघिल्ला वर्षहरूमा जस्तो यस वर्ष चाडपर्व लक्षित वस्तुहरूको आयात नभएको बताए ।

सरकारले मदिरा, तास र खेलौना जस्ता यो नाकाबाट बढी आयात हुने वस्तुको आयातमा रोक लगाएपछि त्यसको प्रभाव देखिएको उनले बताए । ‘हाल तास र खेलौनाको आयातमाथिको प्रतिबन्ध हटाइएको छ, मदिराको कायमै छ,’ उनले भने, ‘मदिरा, सवारी साधन र मोबाइलको आयातमा अझै पनि रोक लगाइएको छ, प्रतिबन्ध हटाइएका वस्तुको एलसी तत्कालै खुलिहाले पनि ती वस्तु आयात भएर आइपुग्न करिब २ महिना लाग्छ ।’

प्रकाशित : आश्विन ३१, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?