कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

सशस्त्र प्रहरीका असई भारतमा मृत फेला

अवधेशकुमार झा

राजविराज — सशस्त्र प्रहरी बलमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षक (असई) भारतीय भूमिमा बिहीबार दिउँसो मृत फेला परेका छन् । 

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोष्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई सत्यनारायण यादव सिमावर्ती बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका हुन् । उनी मृत फेला परेको स्थान नेपाल भारत सीमाभन्दा ३ किलोमिटर दक्षिण भारतमा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि ३ दिन बिदा लिई घर गएको सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले बताए । उनी असोज २१ गते शुक्रबार कार्यालय हाजिर हुनुपर्ने थियो ।

बिहीबार दिउँसो उनको शव भारतीय क्षेत्रमा फेला परेपछि भारतीय प्रशासनले पहिचानका लागि स्थानीयमा तस्बिर सार्वजनिक गरेको थियो । नजिकै रहेको नेपालको बोर्डरमा रहेको सशस्त्र प्रहरीको बीओपीमा कार्यरत रहेकाले स्थानीयले उनी नेपाली सुरक्षाकर्मी रहेको भारतीय प्रशासनलाई जानकारी दिएका थिए ।

भारतीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाएको छ । असई यादवको शव अहिले गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । बिहीबार पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्याल्य सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए । उनका अनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको हो । टाउकोमा चोट रहेको बताइए पनि पोस्टमार्टम रिपोर्ट पछि हत्या वा मृत्युबारे खुल्ने डिएसपी सिंहले बताए । सशस्त्र प्रहरी उपरीक्षक खड्काले उनी बिदा गएदेखिनै घटनाबारे जानकारी लिने कार्य भइरहेको बताए ।

प्रकाशित : आश्विन २०, २०७९ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?