रौतहटमा जिप दुर्घटना, १ को मृत्यु, ६ घाइते   

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिक बिहीबार दिउँसो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । 

रौतहटमा जिप दुर्घटना, १ को मृत्यु, ६ घाइते   

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको दोस्रो लच्का नजिकै पश्चिमबाट आउँदै गरेको ना ५ च ५९० नम्बरको पिकअप जिप दिउँसो अनियन्त्रित भई सडकमा पल्टिँदा वीरगन्ज–५ का २४ वर्षीय पवन मेस्तरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु जैसवारले बताए । घाइते मेस्तरलाई उपचारका लागि चन्द्रपुर अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

दुर्गा पूजाको समापनपछि वाग्मती नदीमा मूर्ति सेलाउन हिँडेकाहरु जिप दुर्घटनामा परेका हुन् । जिपको बायाँ चक्का पन्चर भई सडकमा पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा जिपमा सवार वीरगन्ज–५ का नरेश मण्डल घाइते छन् । बायाँ हातको पाखुरामा चोट लागेका मण्डलको चन्द्रपुरस्थित एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते अर्का राजेशकुमार चौरसियाको अनुहार, चिउँडो काटिएको छ । रोशन गुप्ताको हात र खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनायो । दुर्घटनामा वीरगन्जकै बादल महतो, राहुल महतो, अंशु श्रीवास्तव घाइते छन् । उनीहरुको हात र खुट्टामा चोट लागेको छ ।

केही घाइतेको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनायो । दुर्घटनालगत्तै जिप चालक वीरगन्जका निपुकुमार गुप्ता फरार रहेको प्रहरीले जनायो । जिपमा ९ जना सवार थिए ।

‘घटनाबारे थप अनुसन्धान भइरहेको छ,’डिएसपी जैसवारले भने,‘के कारणले दुर्घटना भएको हो । चालक फेला पारे पछि धेरै कुरा खुल्छ ।’

प्रकाशित : आश्विन २०, २०७९ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?