कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘डिहाइड्रेसन’ले पाटेबाघको मृत्यु 

लक्ष्मी साह

बारा — तीनदिन अघि मृत फेला परेका पर्सा राष्ट्रिय निकुञ्जका पाटेबाघको ‘डिहाइड्रेसन’ले मृत्यु भएको खुलेको छ । चितवनस्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषअन्तर्गतको पशु चिकित्सकको टोलीले गरेको पोस्टमार्टमले ‘डिहाइड्रेसन’को कारण उक्त बाघको मृत्यु भएको खुलेको निकुञ्जका सहायक वार्डेन सुर्य खड्काले बताए । शरीरमा पानीको कमीलाई चिकित्सकीय भाषामा ‘डिहाइड्रेसन’ भनिन्छ । 

विश्वमै दुर्लभ प्रजातिका उक्त पाटेबाघ काठमाडौं र तराई/मधेस जोड्ने निजगढ–काठमाडौं द्रुतमार्गको जिरो माइलस्थित नेपाली सेनाको ब्यारेक नजिक राष्ट्रिय वनक्षेत्रमा गत शुक्रबार १४ गते उक्त १५ वर्षका बाघ मृत फेला परेको थियो । ‘बाघ बुढो भइसकेको थियो,’ उनले भने, ‘बाङ्गरा झरिसकेको थियो । र दाह्रा टुटफुट भइसकेको थियो ।’

उनकाअनुसार बुढेसकालमा मुखमा घाउ भएको थियो र घाउको कारण दुई सातादेखि केही खान पाएका थिएन, त्यसैले शरीरमा पानीको कमी भएर मृत्यु भएको थियो । उनले भने, ‘मृतक बाघ अर्को बाघसँग जुधेकोले शरीरमा केही घाउ पनि लागेको थियो ।’ मृतक बाघलाई निकुञ्जको कार्यालय छेउमा रहेको निकुञ्ज प्रमुखको निवासको कम्पाउन्डभित्र २० फिट गहिरोमा बाघलाई गाडिएको छ ।

‘यहाँ गाड्नुको कारण बाघको अंगको सुरक्षा दिनु हो । बाहिर गाडेको भए सुरक्षित हुँदैन्थ्यो,’ सहायक वार्डेन खड्काले भने, ‘बाघको शव निकालेर त्यसको नंग्रा, जुंगा, दाँत, छालाको चोरी हुनसक्थ्यो । त्यसैले सुरक्षाको लागि यहाँ गाडियो ।’ यो बाघ मृत्युले पर्सा निकुञ्जमा अब ४१ बाट ४० वटामा झरेको निकुञ्ज प्रशासनले जनायो । बाघ मर्नुअघि द्रुतमार्गस्थित नेपाली सेनाको ब्यारेकभित्र पसेर उपद्रो मच्चाएको थियो । ब्यारेकभित्र रहेका कोठाको बाहिरपट्टि लगाइएको एसीको डब्बा, सवारी साधनको टायर (चक्का) लगायतमा टोकेको थियो ।

ब्यारेक परिसरमा बाघ छिरेपछि सेनाले निकुञ्जलाई खबर गर्दै आफैं सुरक्षित भएका थिए । त्यसपछि निकुञ्जका कर्मचारीहरुको टिम आइपुगेको थियो । टोली आइपुग्दा बाघ ब्यारेकबाट भागेर नजिकैको जंगलमा ढलेको थियो । त्यसपछि बाघ उठ्न सकेन । केही समयपछि मृत्यु भएको थियो । ‘मुखमा घाउ भएकाले चिलाएको थियो । चिलाएको मेट्न बाघले सवारी साधनको टायरलगायतमा टोकेको थियो,’ सहायक वार्डेन खड्काले भने, ‘हामी जाँदा बाघ ढलेको देख्यौं । ढुकढुकी चलेको थियो । डार्ट गर्न (बेहो पार्न) चितवनबाट डार्ट टोली बोलाइसकेका थियौं । उहाँहरु बाटौमै छँदा बाघको मृत्यु भयो, उपचार गर्न सकेनौं ।’

मुचुल्का गरेर पोस्टमार्टम गराई बाघको शव गाडेको उनले बताए ।

प्रकाशित : आश्विन १६, २०७९ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?