कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मिथिला नगरीमा धुमधाम दसैं

श्यामसुन्दर शशि

जनकपुर — विजया दशमीको सातौं दिन आइतबार जनकपुरका विभिन्न शक्तिपीठ तथा दुर्गापूजा गरिने स्थलहरूमा फूलपाती भित्र्याइएको छ । शनिबार यहाँका विभिन्न शक्तिपीठहरूमा बेलतोडी भित्र्याइएको छ । बेलनौती (निम्तो दिई आएको) गरेर आएको बेलको रुखबाट बेल, बुट्यान तथा नवपत्री संकलन गरी विभिन्न शक्तिपीठहरूमा भित्र्याउने उपक्रमलाई 'बेलतोडी' भन्ने गरिन्छ ।

मिथिला नगरीमा धुमधाम दसैं

दुर्गा प्रतिमा निर्माण भएका शक्तिपीठहरूमा आइतबार मध्याह्न दुर्गाको प्राण प्रतिष्ठा गरिन्छ‚ जसलाई स्थानीय भाषामा ‘दुर्गाके आँखा फूटब’ भनिन्छ । प्रतिमा निर्माताहरू तान्त्रिक विधिबाट गाजल निर्माण गरी दुर्गा प्रतिमामा आँखाको नानी बनाउने गरिन्छ । दुर्गालाई आँखा प्रदान गरेपछि दुर्गाको प्राण प्रतिष्ठा भएको मानिन्छ । यस अवसरमा महिलाहरू सुमधुर 'सोहर' गाएर दुर्गा भवानीको जन्मउत्सवमा हर्षबढाइँ गर्छन् । 'सोहर' बालक जन्मिदा गाउँने लोकगीतसमेत हो ।

यसैगरी आइतबारदेखि महिलाहरूले 'खोंइछ' भर्ने उपक्रम पनि सुरु गरेका छन् । खोंइछ भर्ने उपक्रम सोमबार मध्याह्नसम्म चल्छ । मिथिलाञ्चलमा चेलीबेटी माइती आउँदा फलफूल,केराउ–बदामको अंकुरी, मिष्ठान्न, श्रृंगार सामग्री, लत्ताकपडासहित खोंइछ भर्ने परम्परा छ । खोंइछ भर्दा सुख,समृद्धि प्राप्त हुने मान्यता छ ।

दुर्गालाई आँखा प्रदान गर्नेबित्तिक्कै जनकपुरसहित गाउँ-गाउँमा मेला सुरु हुन्छ । सोमबार महाअष्टमीको रातमा जनकपुरको राजदेवी मन्दिर, सबैलाको दुर्गा मन्दिरलगायत शक्तिपीठहरूमा बोका बली दिने प्रचलन रही आएको छ । राजदेवी मन्दिरमा गत वर्ष झन्डै १५ हजार बोका बली प्रदान गरिएको थियो ।

विजया दशमीको आगमनसँगै चोक-चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् । झिलिमिली बिजुली बत्तीले नगर झकिझकाउ छ । राजदेवी मन्दिर, अमरखना माई, बौधी माई, पियरिया माई, सोनासत्ती, दक्षिणकालीलगायत शक्तिपीठहरू बेहुलीझैं सिंगारिएका छन् । विद्यापति चौक, रामानन्द चौक, जीरो माइल, पूल चौक आदि स्थानमा दुर्गा प्रतिमा निर्माण गरी, विधिपूर्वक पूजा-अर्चना हुँदैछ । पूजास्थलहरूमा निर्माण गरिएका ठूलठूला पण्डाल, आकर्षक प्रवेशद्वार, सेल्फी प्वइन्ट, भजन–कीर्तन आदि सांस्कृतिक कार्यक्रमले नगर रोमाञ्चक बनेको छ ।

शक्तिपीठहरूमा बिहान दुई बजेदेखि श्रद्धालुको लाइन लाग्ने गर्छ । भीड नियन्त्रण र व्यवस्थापन गर्न शनिबारदेखि पाँच सयभन्दा बढी स्वयंसेवक परिचालित गरिएको महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनीलकुमार प्रसाद बताउँछन् ।

प्राय: सम्पूर्ण शक्तिपीठहरूमा रात्री रंगारंग सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ, जसमा स्थानीय गायक‚ गायिका तथा नर्तक-नर्तकीसँगै बाहिरबाट पनि संस्कृतिकर्मीहरूलाई बोलाउने गरिन्छ । सांस्कृतिक कार्यक्रम हेर्न स्थानीयवासीको ओइरो लाग्ने गरेको छ ।

प्रकाशित : आश्विन १६, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?