कर्मचारीले पाएनन् तलबभत्ता

दुई पालिकाले बजेट ल्याउन नसक्दा प्रशासनिकदेखि विकासनिर्माणका काम ठप्प
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीका दुई पालिकाले बजेट ल्याउन नसक्दा प्रशासनिकदेखि विकास निर्माणका काम रोकिएका छन् । बजेट नआएकै कारण यसपटक वृद्धवृद्धा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका छन् भने कर्मचारीले पनि तलब पाउन नसकेको गुनासो गरेका छन् ।

कर्मचारीले पाएनन् तलबभत्ता

जिल्लाका हरिपुर्वा नगरपालिका र विष्णु गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् । जनप्रतिनिधिबीच विवाद हुँदा बजेट ल्याउन बहुमत पुग्न नसकेको पालिका प्रमुखहरूको भनाइ छ ।

हरिपुर्वा–५ स्थित सोनफी प्राथमिक विद्यालयका शिक्षक शशी यादवले दसैंमा पनि तलब नपाउँदा घर खर्च धान्ने गाह्रो परेको गुनासो गरे । उनले राजनीतिक दलको स्वार्थका कारण आफूहरू मारमा परेको बताए । ‘दसैं जस्तो महान् चाडमा पनि तलब पाउन सकेनौं, तीन महिना उधारो खाएको पसलेहरूले ताकेता गरिरहेका छन्,’ यादवले भने, ‘हाम्रो त यस पटकको दसैं खल्लो नै भयो, बालबालिकाहरू निराश छन् ।’

हरिपुर्वामा १९ जना जनप्रतिनिधिको कार्यपालिका समिति छ, जसमध्ये ९ जना कांग्रेसका, ७ जना जसपाका र ३ जना लोसपाका छन् । उनीहरू एकआपसमा नमिल्दा बजेट ल्याउन नसकिएको पालिकाले जनाएको छ । हरिपुर्वा–६ का वडाध्यक्ष रामसोगारथ रायले नगरप्रमुख विनोद साहको प्रस्तुतीकरण राम्रो नभएकाले सहयोग नगरेको जानकारी दिए ।

‘उहाँको प्रस्तुतीकरण नै राम्रो भएन, एकलौटी ढंगले अघि बढ्न खोज्नु हुन्छ । त्यसैले हाम्रो सहयोग छैन,’ रायले भने, ‘मुद्दामा हाम्रो चित्त नबुझेको होइन, उहाँको व्यवहारले हामीलाई टाढा बनाएको छ, जसले बजेट आउन सकेको छैन ।’

नगरप्रमुख साहले कार्यपालिकाको बैठक पटक–पटक बोलाउँदा पनि जसपा र लोसपाका जनप्रतिनिधि नआएको जानकारी दिए । ‘तपाईंहरूको समस्या के हो ? बसेर समाधान निकालौं भन्दाभन्दै थाकिसकें, उहाँहरू आउनु नै हुन्न,’ उनले भने, ‘समस्या भए त्यसको समाधान निकाल्न सकिन्छ, तर पार्टीको निर्देशन मान्दा समग्र पालिका पछाडि परिरहेको छ । विकास नहुनुका साथै दसैंमा कर्मचारीले पनि तलब खान नपाउनु कस्तो विडम्बना भयो, तर पनि म समस्या समाधानका लागि लागिपरेको छु ।’

विष्णु गाउँपालिकाको अवस्था पनि उस्तै छ । यहाँ गाउँसभा नै हुन सकेको छैन, जसले बजेट पनि आउन सकेको छैन । वृद्धवृद्धा, एकल महिला, अपांगता भएकालगायतले सामाजिक सुरक्षा भत्तासमेत पाउन नसकेको स्थानीय ७५ वर्षीय गणेश साहको दुःखेसो छ । ‘वृद्धभत्ता दिएको छैन, भत्ता नपाउँदा औषधि किन्न गाह्रो भयो, चाडबाडका बेला पनि भत्ता पाएको छैन,’ साहले भने, ‘निर्वाचित जनप्रतिनिधि नै एकअर्काको विरोध गरेर हामीलाई दुःख दिइरहेका छन् ।’

गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले आफूलाई मन लागेको बेलामा बजेट ल्याउने जनाए । ‘गाउँसभा र बजेट ल्याउन कुनै ठूलो कुरा हैन, बजेट ल्याइसकेका अरूले के नै गर्न सक्या छन् र ?’ उनले भने ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?