१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खसी बेचेरै वर्षमा २४ लाख आम्दानी

सुनिता बराल

महोत्तरी —  ३० हजार ऋण लिएर ३ वर्षअघि बाख्रापालन सुरु गरेकी बर्दिवास–१ की अञ्जु दाहाल अहिले आफ्नो व्यवसायबाट खुसी छिन् । यो व्यवसायबाट वर्षमा १२ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेपछि व्यवसाय थप विस्तार गर्ने उनको योजना छ ।अञ्जु र उनका भाइले गरी वार्षिक २४ लाख रुपैयाँ आम्दानी हुने गरेको हो ।

खसी बेचेरै वर्षमा २४ लाख आम्दानी

६ वटा पाठी किनेर व्यवसाय थालेको ३ वर्षमा कृषि विकास बैंकबाट लिएको ऋण तिरेर उनले बाख्रापालनकै आम्दानीले जग्गासमेत जोडिसकेकी छन् । श्रीमान् क्यान्सरपीडित भएकाले परिवार धान्ने, बालबच्चा पढाउने जिम्मेवारी पनि आफैंले सम्हाल्नुपरेको र बाख्रापालनबाटै घर–परिवार सहजै चलिरहेको अञ्जुले बताइन् ।

२ छोरी, १ छोरालाई पढाउने मात्रै हैन, श्रीमान्लाई मासिक लाग्ने ३० देखि ३५ हजार रुपैयाँ उपचार खर्च र घरखर्चको जोहो पनि खसी बेचेरै गरिरहेको उनले सुनाइन् । अञ्जुले गरेको व्यवसाय फस्टाउँदै गएपछि १४ वर्ष वैदेशिक रोजगारीमा रहेका उनका भाइ कृष्णप्रसाद तिमिल्सिना पनि अहिले स्वदेश फर्किएर बाख्रापालनमा सघाइरहेका छन् । दुबईबाट आफ्नै परिवारसँंग बसेर काम गर्ने र कमाउने मनसायले फर्किएको उनले बताए ।

दुईवटा खोरमा पाठापाठीसहित अहिले जम्मा ६५ वटा बाख्रा रहेको कृष्णले बताए । दिदीपट्टिको ३५ वटा र अन्य बाख्रा आफ्नो भएको उनले सुनाए । पाठापाठी नमरी हुर्किने हो भने बाख्रापालनबाट मनग्य कमाइ हुने कृष्णले बताए ।

अघिपछि भन्दा बजारमा दसैंताका खसीको मूल्य र माग बढ्ने हुँदा माग भने पूरा गर्न नसकेको उनीहरू बताउँछन् । धेरै ठूलो व्यवसाय आफूहरूको नभएकाले दसैंका लागि खसी खोज्न आउने ग्राहक खाली हात फर्कने अञ्जुले बताइन् । यस वर्ष दसैंका लागि खोरमा रहेका अधिकांश खसी मासु व्यवसायीले बैना दिएर रोक्का गरिसकेकाले बाहिरका ग्राहकलाई फर्काउन परिरहेको कृष्णले बताए ।

प्रकाशित : आश्विन १५, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?