पर्वमा झकिझकाउ, अरू बेला अस्तव्यस्त- मधेस - कान्तिपुर समाचार

पर्वमा झकिझकाउ, अरू बेला अस्तव्यस्त

दसैंमा शक्तिपीठ र दुर्गा मन्दिरहररुको सजावटमै २ करोडभन्दा बढी खर्च
 स्थायी संरचना बनाउन सके वर्षैभरि नियमित चहलपहल र आम्दानी हुने सरोकारवालाको भनाइ
श्यामसुन्दर शशि

जनकपुर — जनकपुरका शक्तिपीठहरू झकिझकाउ बनाउन र सिगार्न घटस्थापना आउनु साताअघि नै कालिगड खटिसकेका थिए । कालिगडले गरेको मिहिनेतको रङ अहिले देखिन थालिसकेको छ । भव्य पन्डाल र आकर्षक स्वागतद्वार बनाई बालिएको झिलझिले बत्तीले रातको समयमा शक्तिपीठहरू झकिझकाउ देखिएका छन् ।

शक्तिपीठ पुग्ने सडकको दुवैछेउ बालिएका झिलिमिली बत्तीले नगर क्षेत्रको समेत सुन्दरता बढाएको छ ।

अहिले राजदेवी मन्दिर, अमरखना माई, बौधी माई, पियरिया माई, सोनासत्ती, दक्षिणकालीलगायत देवीका मन्दिर र शक्तिपीठ बेहुलीझैं सिँगारिएको छ । विद्यापति चोक, रामानन्द चोक, जिरो माइल, पूल चोकमा दुर्गाको प्रतिमा स्थापना गरी नियमित पूजा र भजनकिर्तन चलिरहेको छ । पूजास्थलमा निर्माण गरिएका ठूला पण्डाल, आकर्षक प्रवेशद्वार, सेल्फी प्वाइन्ट, भजनकिर्तन, सांस्कृतिक कार्यक्रमले नगर अहिले उल्लासमय बनेको छ ।

अहिले शक्तिपीठ र दुर्गा मन्दिरहरूमा हरेक दिन बिहानैदेखि श्रद्धालुको भीड लाग्छ । दर्शनार्थीलाई व्यवस्थित गर्न सबै शक्तिपीठमा २ सयभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । विजया दशमीमा शक्तिपीठ शृंगार र अन्य व्यवस्थापनमा स्थानीयबाट चन्दा संकलन र संघसंस्थाको सहयोगमा करीब २ करोड रुपैयाँ खर्च गरिएको बताइएको छ । राजदेवी मन्दिरमा महाष्टमीको दिन हुने बोकाबलिबाट पनि लाखौं रकम संकलन हुन्छ ।

‘यहाँका युवा क्लब भिन्दाभिन्दै शक्तिपीठको साज–शृंगार र पूजा व्यवस्थापन गर्छन् । जसमा करिब २ करोड रुपैयाँभन्दा अधिक खर्च भएको छ । यसले जनकपुरको पर्यटन विकासमा ठूलै योगदान पुर्‍याएको छ,’ महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनीलकुमार प्रसादले भने ।

दसैंको अवसरमा शक्तिपीठ र दुर्गा प्रतिमा निर्माणस्थलको शृंगार र पूजाअर्चनाको व्यवस्थापन महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा कमिटी, विद्यापति युवा क्लबलगायतले गर्छन् । यी क्लबले मात्रै प्रतिक्लव न्यूनतम २० लाखदेखि ५० लाख रुपैयाँसम्म खर्च गर्छन् । अन्य संघसंस्थाले पनि ५ लाखदेखि १० लाखसम्म रुपैयाँसम्म खर्च गर्दै आएका छन् । महावीर युवा कमिटी एक्लैको यस वर्ष ४० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको प्रसादले सुनाए ।

महाष्ठमीको दिन राजदेवी मन्दिरमा १० हजारदेखि १८ हजार वटासम्म बोकाको बली दिइन्छ । गत वर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको थियो । जसबाट २८ लाख रुपैयाँ आम्दानी भएको थियो । एउटा बोकाको बली दिएबापत आयोजक संस्था र गुठी संस्थानको नाममा २ सय रुपैयाँको रसिद काट्नुपर्छ ।

शक्तिपीठको साज–शृंगार र पूजा व्यवस्थापन हरेक वर्ष लाखौं खर्च गर्नुको सट्टा स्थायी संरचना नै बनाउन सके वर्षैभरि श्रद्धालु दर्शन गर्न आउने र नियमित भेटी पनि संकलन हुने कतिपयको बुझाइ छ । ‘अस्थायी संरचना निर्माणमै २ करोड रुपैयाँ खर्च गर्नु अनुत्पादक लगानी हो । यतिका रकमबाट स्थायी संरचना नै निर्माण गर्न सकिन्छ । मौलिक गीत, संगीत तथा पूजा पद्धतिलाई संस्थागत गर्न सकिन्छ,’ रामानन्द युवा क्लबका संस्थापक अध्यक्ष अमरचन्द्र अनिलले भने, ‘वर्षैभरि दर्शनार्थी आउँदा स्थानीय व्यापार व्यवसायमा समेत टेवा पुग्छ ।’

दसैंका बेला साजसज्जामा लाखौं खर्च गर्ने गरिए पनि यहाँका सबैजसो मठमन्दिर अस्तव्यस्त छन् । जुत्ताचप्पल राख्ने ठाउँसम्म छैनन् । खानेपानी र शौचालयको व्यवस्था छैन । सरसफाइ नियमित हुँदैन । जनक मन्दिरमा त महिनौंदेखि बिजुलीबत्ती बलेको छैन । जानकी मन्दिर परिसरमा फोहोरको डुंगुर नै छ ।

राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ भने दसैं, छठ, रामनवमी, विवाह पञ्चमीजस्ता पर्वलाई आस्थासँग जोडिएका पर्व मान्छन् । यस्ता पर्व मनाउँदा लाग्ने खर्चलाई लाभहानी भन्दा पनि आध्यात्मिक सुखको खोजीका रुपमा बुझ्नुपर्ने उनको तर्क छ ।

प्रकाशित : आश्विन १४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्

दसैं मान्न खसीबोका बिक्रीकै भर

ओमप्रकाश ठाकुर

सर्लाही — दसैं सुरु भएसँगै सर्लाहीमा खसीबोकाको व्यापार बढेको छ । जिल्लाको दक्षिणी ग्रामीण क्षेत्रमा उत्पादित खसीबोका उत्तरी बजार क्षेत्रमा ल्याई बिक्री गर्ने गरिएको छ । खसीबोका पालन गर्ने धेरै स्थानीयले खसीबोका बेचेरै दसैंको किनमेल गरिरहेका छन् ।

लालबन्दी नगरपालिका–१३ नारायणडाँडाका बलबहादुर थिङले बर्सेनि खसीबोका बेचेरै दसैंको गर्जो टार्दै आएको बताए । उनले बुधबार मात्रै हरिवन बजारमा ४५ हजार रुपैयाँमा २ वटा बोका बेचे । ‘अहिले त्यही पैसाबाट परिवारलाई दसैंको किनमेल गरिरहेका छौं,’ उनले भने ।

अर्का स्थानीय चन्द्र जिम्बाले पनि सोमबार ४ वटा खसी बेचे । १ लाख ५ हजारमा खसी बिक्री गरेका उनी लत्ताकपडा खरिद गर्न आएका बेला छोराछोरीसहित लालबन्दी बजारमा भेटिए । उनका अनुसार गाउँका सबैजसो किसानले खसीबोका बेचेर दसैं मान्ने गरेका छन् । ‘अन्य समयमा पनि आफूहरूको आम्दानीको स्रोत खसीबोका बिक्री नै हो । दसैंका बेला बिक्री गर्न बजारको दुःख हुँदैन, मूल्य पनि पाइन्छ,’ उनले भने, ‘गाउँका अन्य किसानले पनि धमाधम खसीबोका बेचेर लुगाफाटा, मरमसला किनिरहेका छन् ।’

अहिले जिल्लाको बरहथवा, बयलवास, लालबन्दी, हरिवनलगायतका हाटबजारमा खसीबोकाको उल्लेख्य व्यापार भइरहेको छ । खसीबोका खरिद गर्नेको चाप धेरै भएको भन्दै कतिपय व्यापारी किसानकहाँ नै पुगेर खसीबोका खरिद गरी बजारसम्म ल्याइरहेका छन् ।

‘अहिले मुख्य गरी खसीबोकाकै बजार हो । हाटबजारमा बिक्री गर्नेभन्दा खरिद गर्नेको संख्या बढी छ, जसले आपूर्तिमा समस्या आइरहेको छ,’ हरिवनका खसीबोका व्यापारी शेख इद्रिसले भने, ‘पर्याप्त खसीबोका होस् भनी हामी गाउँ–गाउँ पुगेर खरिद गरी यहाँसम्म ल्याएर बिक्री गरिरहेका छौं । यसबाट मुनाफा पनि बढेको छ ।’

सर्लाहीको उत्तरी चुरे क्षेत्रमा व्यावसायिक रूपमै बाख्रापालन हुने गरेको छ । खेती गर्नुभन्दा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनमा लागेका हुन् । माग बढेका बेला उनीहरूले ४ वटा खसीबोका बेच्दा १ लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउँछन् । स्थानीय व्यापारीहरूका अनुसार दसैंको महाअष्टमीका दिनसम्म नै खसीबोकाको व्यापार हुने गर्छ ।

प्रकाशित : आश्विन १४, २०७९ ११:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×