२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

दसैं मान्न खसीबोका बिक्रीकै भर

ओमप्रकाश ठाकुर

सर्लाही — दसैं सुरु भएसँगै सर्लाहीमा खसीबोकाको व्यापार बढेको छ । जिल्लाको दक्षिणी ग्रामीण क्षेत्रमा उत्पादित खसीबोका उत्तरी बजार क्षेत्रमा ल्याई बिक्री गर्ने गरिएको छ । खसीबोका पालन गर्ने धेरै स्थानीयले खसीबोका बेचेरै दसैंको किनमेल गरिरहेका छन् ।

दसैं मान्न खसीबोका बिक्रीकै भर

लालबन्दी नगरपालिका–१३ नारायणडाँडाका बलबहादुर थिङले बर्सेनि खसीबोका बेचेरै दसैंको गर्जो टार्दै आएको बताए । उनले बुधबार मात्रै हरिवन बजारमा ४५ हजार रुपैयाँमा २ वटा बोका बेचे । ‘अहिले त्यही पैसाबाट परिवारलाई दसैंको किनमेल गरिरहेका छौं,’ उनले भने ।

अर्का स्थानीय चन्द्र जिम्बाले पनि सोमबार ४ वटा खसी बेचे । १ लाख ५ हजारमा खसी बिक्री गरेका उनी लत्ताकपडा खरिद गर्न आएका बेला छोराछोरीसहित लालबन्दी बजारमा भेटिए । उनका अनुसार गाउँका सबैजसो किसानले खसीबोका बेचेर दसैं मान्ने गरेका छन् । ‘अन्य समयमा पनि आफूहरूको आम्दानीको स्रोत खसीबोका बिक्री नै हो । दसैंका बेला बिक्री गर्न बजारको दुःख हुँदैन, मूल्य पनि पाइन्छ,’ उनले भने, ‘गाउँका अन्य किसानले पनि धमाधम खसीबोका बेचेर लुगाफाटा, मरमसला किनिरहेका छन् ।’

अहिले जिल्लाको बरहथवा, बयलवास, लालबन्दी, हरिवनलगायतका हाटबजारमा खसीबोकाको उल्लेख्य व्यापार भइरहेको छ । खसीबोका खरिद गर्नेको चाप धेरै भएको भन्दै कतिपय व्यापारी किसानकहाँ नै पुगेर खसीबोका खरिद गरी बजारसम्म ल्याइरहेका छन् ।

‘अहिले मुख्य गरी खसीबोकाकै बजार हो । हाटबजारमा बिक्री गर्नेभन्दा खरिद गर्नेको संख्या बढी छ, जसले आपूर्तिमा समस्या आइरहेको छ,’ हरिवनका खसीबोका व्यापारी शेख इद्रिसले भने, ‘पर्याप्त खसीबोका होस् भनी हामी गाउँ–गाउँ पुगेर खरिद गरी यहाँसम्म ल्याएर बिक्री गरिरहेका छौं । यसबाट मुनाफा पनि बढेको छ ।’

सर्लाहीको उत्तरी चुरे क्षेत्रमा व्यावसायिक रूपमै बाख्रापालन हुने गरेको छ । खेती गर्नुभन्दा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनमा लागेका हुन् । माग बढेका बेला उनीहरूले ४ वटा खसीबोका बेच्दा १ लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउँछन् । स्थानीय व्यापारीहरूका अनुसार दसैंको महाअष्टमीका दिनसम्म नै खसीबोकाको व्यापार हुने गर्छ ।

प्रकाशित : आश्विन १४, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?