मधेसमा दुई हजार किशोरीलाई आत्मरक्षा तालिम दिइने


जनकपुर — मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले चालु आर्थिक वर्षमा २ हजार किशोरीलाई आत्मरक्षा तालिम दिने घोषणा गरेका छन् ।

दलित महिला केन्द्र, नेपालले बिहीबार आयोजना गरेको ‘महिला हिंसा विरुद्धमा रहेका कानुनी तथा नीतिगत अन्तर’सम्बन्धी अन्तरक्रिया तथा अन्तरअध्ययन पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले चेलीबेटीहरु आफूलाई सुरक्षा गर्न सकुन् भनेर सरकारले आत्मरक्षा तालिम दिने घोषणा गरेका हुन् । उनले भने,‘विद्यालय, क्याम्पस जाने र फर्किने बेला किशोरीहरुसँग बाटोमा दुर्व्यवहार हुने गरेको सूचना आइरहन्छ । चेलीबेटीहरु आफूलाई सुरक्षा गर्न सकुन् भनेर मधेस सरकारले २ हजार किशोरीलाई तालिम दिने योजना बनाएको छ ।’
तालिम मधेस प्रदेशका ८ जिल्लामा संचालन हुने तथा यसका लागि आवश्यक तयारी भइसकेको मन्त्री सिंहले जानकारी दिए । मन्त्री सिंहले गरिबी,अशिक्षा, जनचेतना तथा नकारात्मक सोच महिला हिंसाको प्रमुख कारण रहेको उनले बताए ।‘महिला हिंसा अन्त्य गर्न गरिबी र अशिक्षा अन्त्य गर्नुपर्छ । सरकार यसलाई गम्भीरतापूर्वक लिएको छ,’ मन्त्री सिंहले भने ।
कार्यक्रममा प्रदेश सांसद किशोरी साह कमलले दलित, जनजाति र गरिब वर्ग, समुदायका महिला हिंसाको सिकार हुने गरेको बताए । प्रदेशसभा सदस्य प्रमेश्वर साह, प्रदेशसभा सदस्य चमेली देवी दास, सरुमा विश्वकर्मा, पाल्मो तामाङ, दलित महिला केन्द्र नेपालकी अध्यक्ष दुलारी हरिजनलगायतले महिला हिंसा न्यूनिकरण विषयमा बोलेका थिए ।
प्रकाशित : आश्विन १३, २०७९ १७:०८