रक्सौलकै भाउ सस्तो बजारमा- मधेस - कान्तिपुर समाचार

रक्सौलकै भाउ सस्तो बजारमा

उपभोग्य सामग्री एकै स्थलमा पाउने र बजार मूल्यभन्दा २० प्रतिशत सस्तो भएकाले उपभोक्ताको भीड
कान्तिपुर संवाददाता

वीरगन्ज — वीरगन्ज महानगरपालिका– ४ विर्ताकी सृजना साह बुधबार सस्तो बजारमा किनमेल गर्दै थिइन् । नुन, चामल, दाल, तेल, पिठो लगायतको खाद्यान्न सामग्री राखिएका स्टल उनको प्राथमिकता थिए ।

करिब २० मिनेटको बीचमा उनी सस्तो बजारबाट बाहिरिदा उनको दुबै झोला भरिएका थिए । ‘बजार मूल्य भन्दा उपभोग्य सामग्री सस्तो छ,’ उनले भनिन्, ‘दुई हप्ता पुग्ने गरि सामान खरिद गरेको छु ।’

वीरगन्ज– ६ माईस्थानकी सृजना पान्डेले पनि करिब १५/२० दिनलाई पुग्ने गरि भान्साको सामान सस्तो बजारमा खरिद गरेको बताइन् । चाडपर्वको समयमा सर्वसाधारण दैनिक उपभोग्य वस्तु खरिद गर्न सीमावर्ती रक्सौल बजार जाने गरेका छन् । सस्तो मूल्यमा सामान खरिद गर्न पाइने हुनाले रक्सौलमा नेपाली उपभोक्ताको भीड नै लाग्ने गरेको छ । ‘सस्तो बजारमा दैनिक उपभोग्य वस्तु अहिले रक्सौलकै रेटमा खरिद गरे,’ माइस्थान निवासी पान्डेले भनिन्, ‘अन्य उपभोक्ताले पनि यसबाट लाभ लिन सक्नुपर्छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय पर्साले महावीर धर्मशालामा सोमबार देखि सञ्चालनमा ल्याएको सस्तो बजार अहिले धेरैको रोजाईमा परेको छ । उपभोग्य सामग्री एकै स्थलमा पाउने र बजार मूल्य भन्दा २० प्रतिशत सस्तो दरमा खरिद गर्न पाइने हुनाले उपभोक्ताहरूको भीड लागेको छ । घटस्थापनादेखि सञ्चालनमा आएको सस्तो बजार फुलपातीको दिनसम्म लाग्ने बताइएको छ । त्यहाँ दैनिक उपभोग्य सामग्री सहितका १९ वटा स्टल राखिएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुवोध कुमार गुप्ताले दैनिक उपभोग्य वस्तुहरू सस्तो मूल्यमा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सस्तो बजार आयोजना गरिएको जनाए । चाडपर्वमा दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा एकैथलोमा खरिद गर्न पाउँदा उपभोक्ता लाभान्वित हुने बताए ।

प्रकाशित : आश्विन १३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्

सडकमै मासु पसल

शिव पुरी

रौतहट — बजार अनुगमनका क्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले धुलाम्मे सडक छेउमा खसीको मासु झुड्याएर बिक्री गरिरहेको भेट्टायो । मासु पसल मापदण्डविपरीत रहेको भन्दै कारबाही थाल्ने चेतावनी दिइयो । तर, रौतहटमा चाडपर्वको मुखमा बजार अनुगमन गरे पनि मापदण्डविपरीतका पसललाई कारबाही गर्न सकेको छैन । 

चन्द्रपुर नगरक्षेत्रका बजारमा खसी, कुखुरा, सुंगुर, बंगुर, राँगालगायतका मासु पसल व्यवस्थित नरहेको सरकारी दाबी रहे पनि उनीहरूलाई चेतावनी दिएर मात्रै अनुगमन समिति फर्किने गरिएको छ । धुलाम्मे सडक छेउमै थापिएको पसलमा मासुमा झिँगा लागिरहेको हुन्छ । केही पसलेले त खसीको भनेर बाख्राको मासुसमेत बेचेको अनुगमनका क्रममा भेटिएको छ ।

चन्द्रपुर नगरपालिकाको पशु शाखा अधिकृत उद्धव चिमसिरयाले मासु व्यापारीलाई पसल व्यवस्थित गर्न धेरैपटक भने पनि अटेरी गरिरहेको बताए । ‘मानिसको स्वास्थ्यसित सरोकार राख्ने पसल सफा र व्यवस्थित हुनुपर्छ,’ उनले भने, ‘अनुगमनका क्रममा व्यवस्थित गर्छौं भनेर प्रतिबद्धता जनाउँछन् । तर, पछि वास्तै गर्दैनन् । जथाभावी फोहोर पारेर मासु बिक्री गर्छन् ।’

रौतहटका अधिकांश फ्रेस हाउसले मापदण्ड पालना गरेको छैन । चन्द्रपुरको पुरानो बजार र आसपासका क्षेत्रका साथै सन्तपुर, बालचनपुर, डुमरिया बजारमा अव्यवस्थित तरिकाले मासु बेच्छन् ।

स्थानीय तहले समयमा अनुगमन नगर्दा मासु व्यवसायी हौसिएका हुन् । मासु बिक्रीस्थल जालीले घेरेको हुनुपर्छ । फ्रिज राख्नुपर्छ । मासुमा पानी मिसाउन पाइँदैन । नगरपलिकामा स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार पशु वधशालाको स्थापना अनिवार्य छ । तर, यसको कार्यान्वयन भएको छैन । यहाँको अधिकांश नगरपालिकामा वधशाला नै छैन ।

चन्द्रपुर नगरपालिकाबाट खटिएका अनुगमन टोलीले मापदण्ड पूरा नगरे कारबाहीको चेतावनी मात्रै दिएर छाडिदिन्छन् । ‘व्यापारीले गल्ती स्विर्कान्छन् तर सुधार्नेतिर अग्रसर देखिन्नन्,’ चिमरियाले भने । अनुगमन टोलीले चन्द्रपुर ५ र ६ स्थित देउराली चोकका मासु पसलमा लापरबाही र अव्यवस्थित भेट्टाएको थियो । व्यापारीले बाहिर, धूलो उड्ने ठाउँमा डोरीले झुड्याएर खसी र खाट वा टेबलमा राखेर कुखुराको मासु बेच्दै आएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जिल्लाभरिका बजारमा अनुगमन भइरहेको बताए । ‘उद्योग वाणिज्य संघमार्फत सडकका बजारमा राखिने खाद्यान्नलगायत मासु पसल व्यवस्थित गर्न भन्दै आएका छौं,’ उनले भने, ‘व्यापारीहरू हुन्छ भन्छन् । तर नियमसंगत काम गर्दैनन् । अब कडाइका साथ नियम लागू गर्छौं ।’

प्रकाशित : आश्विन १३, २०७९ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×