२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

म्यादी भर्नामा नेताको भनसुन

अवधेशकुमार झा

राजविराज — मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटाइने म्यादी प्रहरी छनोटमा राजनीति दलका नेताहरूले प्रहरी अधिकारीमाथि दबाब दिएका छन् । आफ्ना निकटलाई म्यादी प्रहरीमा छनोट गर्न उनीहरूले प्रहरी अधिकारीलाई तारन्तार फोन गरिरहेका छन् । जसले गर्दा सप्तरीमा म्यादी प्रहरीको छनोट प्रहरी अधिकारी र नेताा लागि तनावमय बनेको छ ।

म्यादी भर्नामा नेताको भनसुन

म्यादी प्रहरीमा आफ्ना निकटलाई भर्ना गरिदिन सप्तरीका प्रहरी अधिकारीहरूलाई दैनिक सयौ भन्दा बढी नेताहरूकै फोन आउँछ । प्रहरी अधिकारीहरूको मोबाइल, म्यासेन्जर र ह्वाट्सएपमा अहिले म्यादी प्रहरीको लागि पैरबी गरिँदै उनीहरूको दर्ता नम्बर पठाउने गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अभिनारायण काफ्ले र डीएसपी माधवप्रसाद काफ्लेको मोबाइलको म्यासेज बक्स, ह्वाट्सएप र म्यासेन्जरमा दिनहु दर्जनौं दर्ता नम्बर आउँछ । धेरै म्यासेज त उनीहरूले हेर्नसमेत नभ्याएको बताउँछन् । अन्य तहका प्रहरी अधिकारीहरूलाई पनि म्यादीमा पैरवी लगाइदिन भनसुन गर्नेहरूको संख्या कम छैन ।

मन्त्री, नेता, जनप्रतिनिधि, समाजसेवा लगायत कुनै हिसाबले चिनजान भएकाहरू अहिले म्यादीका लागि प्रहरी अधिकारीसमक्ष पैरवी गरेका छन् । ‘म्यादीका लागि त दैनिक कति हो कति फोन आइराको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी काफ्लेले भने, ‘तर, फोन, म्यासेजमा वा अन्य कुनै तरिकाले दर्ता नम्बर टिपाएको विषय एकातिर छ । हामी हाम्रो नीतिअनुसार भर्ना प्रक्रिया अघि बढाएका छौं ।’

मंगलबार दिउँसो डीएसपी माधवप्रसाद काफ्लेको हातमा दर्ता नम्बर लेखिएका कैयौं चिर्पट थियो । उनले आफ्नो मोबाइल देखाउँदै भने, ‘हेर्नुस् म्यासेज आएको, धेरै म्यासेज त हेर्ने पाएका छैनौं ।’ प्रहरी अधिकारीहरूले नीति नियमअनुसार नै भर्ना प्रक्रिया अघि बढाएको बताए पनि म्यादी प्रहरी भर्नामा उच्च तहकै फोन र पैरवी आउन थालेपछि उनीहरू त्यस्ता पैरवी मान्न बाध्य छन् ।

यस्तै हालत छ जनप्रतिनधिको पनि । वडाध्यक्षदेखि गाउँपालिका अध्यक्ष, नगर प्रमुखदेखि मन्त्रीसम्म म्यादी भर्नाका कारण तनावमा छन् । कार्यकर्ताले बिहानैदेखी म्यादी प्रहरीका जागिर लगाइदिन पैरवीका लागि दर्ता नम्बर टिपाएर हैरान बनाएको एक जनप्रतिनिधिले बताए । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नेलाई त म्यादी प्रहरीको भर्ना अहिले टाउको दुखाइ नै बनेको छ ।

‘दैनिक २५ जनाभन्दा बढीको पैरवी लिएर गाउँबाट नेता–कार्यकर्ता आउँछन् । प्रहरी अधिकारीलाई पनि कति जनासम्मको आग्रह गर्नु, आफैं लाज हुन्छ,’ एक नेताले भने, ‘भनसुन गर्न आएका सबैलाई हुन्न पनि भन्न सक्दिनँ, नभएकाहरूको घरको भोट त यही आक्रोशमा अर्कोतिर जाने भइहाल्यो ।’ सप्तरीमा ३ हजार २ सय ७८ जना म्यादीको भर्ना लिने तयारी गरिएकामा ८ हजार ९ सय ६० जनाले आवेदन गरेको छ ।

प्रकाशित : आश्विन १३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?