हत्या आरोपमा एक युवक पक्राउ

सुनिता बराल

महोत्तरी — महोत्तरीको मटिहानीबाट हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । मटिहानी नगरपालिका १ बस्ने ४० वर्षीया अमना खातुनको हत्या आरोपमा मटिहानी १ घर भएका २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेको महोत्तरी प्रहरीले जनाएको छ । 

हत्या आरोपमा एक युवक पक्राउ

असोज ७ गते बिहान ११ बजे हँसिया र बोरा लिएर घाँस काट्न हिँडेकी अमना साँझ अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा बिगही खोला किनारमा मृत फेला परेकी थिइन् ।

अमनाको शव जाँच गर्दा उनको छाति, घाँटी र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको पुष्टि भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । मधेस प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी महोत्तरीको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दा अन्तर्गत हत्या आरोपमा अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्देश्वर यादवले जानकारी दिए ।

खातुनले लगाएको सुनको फूली र चाँदीका दुईवटा पाउजु बेचेर आर्थिक लाभ लिने लोभले उनको हत्या गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

अन्सारीले अमनाको गहना जलेश्वरको एक सुनचाँदी पसलमा लगेर बेचेको र उक्त गहना बरामद गरिएको यादवले बताए । प्रहरीका अनुसार घटनास्थलमा फेला पारिएको रगत लागेको गन्जी आफ्नो भएको अन्सारीले सनाखत गरिसकेका छन् । घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको यादवले बताए ।

प्रकाशित : आश्विन १२, २०७९ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?