१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अख्तियार कार्यालय बर्दिवासमा २ महिनामै ३ सय १५ उजुरी

अख्तियारको कार्यालय क्षेत्रमध्ये सबैभन्दा बढी उजुरी धनुषा जिल्लामा परेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष पनि धनुषाबाट सबैभन्दा बढी ३ सय ३९ उजुरी परेका थिए ।
सुनिता बराल

महोत्तरी — मधेस प्रदेशका ४ जिल्लासहित ९ वटा जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा २ महिनामा ३ सय १५ उजुरी परेका छन् ।

अख्तियार कार्यालय बर्दिवासमा २ महिनामै ३ सय १५ उजुरी

मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश १ को खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र वाग्मती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट २ महिनामै ३ सय १५ उजुरी कार्यालयमा दर्ता भइसकेको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।

अख्तियार कार्यालय बर्दिवासले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा कार्यालयमा जम्मा ९ सय १५ वटा उजुरी दर्ता भएका थिए । अहिले कार्यालयमा उजुरी दर्ता हुने क्रम बढीरहेको अख्तियार कार्यालय बर्दिवासका प्रमुख गोपाल कुमार अधिकारीले बताए ।

अख्तियारको कार्यालय क्षेत्रमध्ये सबैभन्दा बढी उजुरी धनुषा जिल्लाबाट परेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष धनुषा जिल्लाबाट सबैभन्दा बढी ३ सय ३९ उजुरी परेका थिए । यस आर्थिक वर्षमा पनि उजुरी पर्नेमा धनुषा पहिलो जिल्ला रहेको अख्तियार कार्यालयले जनाएको छ । साउन र भदौ दुई महिनामै धनुषाबाट ९३ उजुरी अख्तियारमा परिसकेको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

स्थानीय तह र विद्यायलयसँग सम्बन्धित मुद्दा अख्तियारमा बढी पर्ने गरेको कार्यलय प्रमुख अधिकारीले बताए । अख्तियारले मुद्दा दर्ता गर्ने प्रक्रिया सहज बनाएको, आफ्नो ठाउँमा भएका विकास निर्माणका काममा बजेट सही तवरबाट खर्च भए/ नभएको बारे चनाखो हुन नागरिकलाई विविध जनचेतनामुलक कार्यक्रम संचालन गरेको र संघीयता स्थापनापछि स्थानीय सरकारमा भएको अनियमितता बढेको हुनसक्ने कारण अख्तियारमा मुद्दा दिने लहर पनि बढ्दै गएको अधिकारीले बताए ।

गत आर्थिक वर्षको दुई महिनालाई तुलना गर्दा यस आर्थिक वर्षको दुई महिनामा अख्तियारमा उजुरी दोब्बर हुनसक्ने अधिकारीले बताए । यस्तै इमेल, इन्टरनेट र सामाजिक संजाल, फोन, हुलाक र अन्य माध्यमबाट आएका उजुरी अख्तियारले सहजै छानबिन प्रक्रियमा समावेश गर्दै आएको अख्तियार कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट फर्स्योट गर्न बाँकी १ हजार १ सय ९६ र ०७८/०७९ मा परेका ९ सय १५ मुद्दाबाट ११ सय ९६ मुद्दा गत आर्थिक वर्षमा फर्स्योट भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको फर्स्योट गर्न बाँकी ९ सय १५ वटा मुद्दा र यस अर्थिक वर्षमा परेका ३ सय १५ वटा मुद्दामा पनि अनुसन्धानको प्रक्रिया अघि बढिसकेको कार्यालयले जनाएको छ ।

यस वर्ष धनुषापछि अख्तियारमा मुद्दा बढी पर्ने जिल्लामा महोत्तरी देखिएको छ । महोत्तरीबाट २ महिनामा ६८ वटा उजुरी परिसकेका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?