वारि सुनसान, पारि भीड

सस्तो र गुणस्तरीय सामान पाउने अपेक्षामा भारतीय बजार पुग्दै नेपाली उपभोक्ता, बजार अनुगमन बढाउन जोड 
ओमप्रकाश ठाकुर

सर्लाही — दसैं सुरु भइसक्दा पनि सर्लाहीका बजारमा उपभोक्ताको भीड छैन । तर, पारिका भारतीय बजारमा भने भीडभाड बढेको छ । सस्तो मूल्यमा सामान पाइने गरेकाले नेपालीको रोजाइमा भारतीय बजार परेको हो । सामान सस्तो हुँदा नेपाली उपभोक्ताको घुइँचो स्थानीय बजारभन्दा पनि पारितर्फ बढी हुन्छ ।

वारि सुनसान, पारि भीड

सर्लाहीको सीमावर्ती भारतीय बजार सोनवर्षा र मेजरगन्ज छन् । लत्ताकपडा किनमेलका लागि भने नेपाली ग्राहक सीतामढी बजार पुग्छन् । सीमामा अन्य साना बजार पनि छन् । सामान्य अवस्थामा सीमावर्ती क्षेत्रका उपभोक्ताले भारतीय बजारबाट किनमेल गर्दै आएकोमा चाडपर्वका बेला उत्तरी क्षेत्रका ग्राहकको रोजाइ पनि भारतीय बजार नै छ ।

चाडपर्वका बेला सीमावर्ती ठूला बजारमा करोडौंको कारोबार हुने गरेको त्यहाँका व्यापारीहरू बताउँछन् । जबकि वारि सदरमुकाम मलंगवासँगै प्रमुख व्यापारिक केन्द्र बरहथवा, ईश्वरपुर, लालबन्दी र हरिवनमा पारिका बजारको तुलनामा न्यून व्यापार हुन्छ ।

सोमबार मात्र नवलपुरकी पुनम न्यौपाने परिवारसहित किनमेलका लागि भारतीय बजार सीतामढी पुगेर फर्किन् । उनले दसैंको मौका पारेर घर परिवारका लागि लत्ताकपडा किन्न २० हजार रुपैयाँभन्दा बढी खर्चिन् । उनले गुणस्तरका लागि मात्र भारतीय बजार गएकोमा किनमेलमा नेपाली बजारभन्दा सस्तो पनि पाइएको बताइन् । ‘भारतीय बजारमा गुणस्तरका साडी, सलवार सुट, तन्नालगायत कपडा पाउने गरेका छन्, त्यो गुणस्तर नेपाली बजारमा पाउन कठिन छ, पाए पनि मूल्य अचाक्ली हुन्छ,’ उनले भनिन्, ‘भारतीय बजारमा गुणस्तरसहित मूल्यमा पनि किफायती हुन्छ ।’

लालबन्दीका लक्ष्मी चौधरीले पनि दुई दिनअघि मात्र भारतीय बजार सीतामढीबाट लत्ताकपडा किनेर ल्याए । उनले पनि नेपाली बजारभन्दा सस्तो र गुणस्तरयुक्त सामान भारतीय बजारमा पाउने गरेको बताए । चाडपर्वमा मात्र हैन अन्य समयमा पनि भारतीय सीमावर्ती बजारमा नेपाली उपभोक्ताकै भीड हुन्छ । सामान सस्तो पाउने गरेका कारण भारतीय बजार जाने गरेको गैरका मनोज ठाकुरले बताए । ‘भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनको सामान ल्याउँदा महिनाको पाँच हजारमा घर खर्च चल्छ, त्यही सामान नेपाली बजारमा खरिद गर्नलाई १० हजार चाहिन्छ,’ उनले भने, ‘चाडवाडमा नेपाली बजार छोइनसक्नु हुन्छ जबकि भारतीय बजारमा चाडबाडमा कुनै मूल्य वृद्धि हुँदैन ।’

नेपाली बजार अनुगमन नभएकै कारण उपभोक्ता ठगिने डरले सिधै पारिको बजार पुग्ने गरेको नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले बताए । उनले नियमित अनुगमन र कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याए धेरै हदसम्म उपभोक्ताले नेपाली बजारमै खरिद गर्ने बताए । उनले मूल्यको पनि फरक पर्ने गरेको उपभोक्ता खरिद गर्न नरुचाउने गरेको जानकारी दिए । ‘चाडबाड लाग्यो भने झारा टार्ने अनुगमन हुन्छ, वर्षभरि कसैलाई मतलब हुँदैन,’ उनले भने, ‘यसको फाइदा नेपाली व्यापारीले उठाउँछन्, यी सबैबाट आजित भएका उपभोक्ता सजिलै भारतीय बजार पस्ने गरेका छन्, जहाँ सस्तो र गुणस्तरयुक्त सामान लिएर आउँछन् ।’

प्रकाशित : आश्विन १२, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?