२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

पर्सामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

शंकर आचार्य

पर्सा — पर्सामा सोमबार बिहान एकै समयमा २ छुट्टाछुट्टै स्थानमा चट्याङ लागि एक बालकको मृत्यु भएको छ । साथै तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान साढे ६ बजे वीरगन्ज महानगरपालिका वडा नं २ ईदगाह चोकस्थित छठीमाई पोखरीको नजिकमा चट्याङ लागेर सोही स्थान घरमा भएका रामप्रसाद उपाध्यायका १५ वर्षीय छोरा सिद्धान्त उपाध्यायको मृत्यु भएको छ ।

मेघ गर्जनसहित चट्याङ लाग्दा ३ जना सख्त घाइते भएको जानकारी पाए लगत्तै नजिकको ड्यूटीमा रहेको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । साथै घाइतेहरूलाई तत्कालै नारायणी अस्पताल पुर्‍याउँदा अस्पतालले बालक उपाध्यायलाई मृत घोषणा गरेको थियो ।

चट्याङ लागि वीरगन्ज–४ का भिखारी राउतका १३ वर्षीय छोरा अर्जुन राउत, वीरगन्ज– १ की साविर हुसेनकी पत्नी २९ वर्षीया कुलनेसा खातुन पनि घाइते भएकी छन् । सख्त घाइते बालक राउतलाई नारायणी अस्पतालले थप उपचारका लागि नेसनल मेडिकल कलेजमा रिफर गरेको छ । खातुन भने खतरामुक्त छिन् ।

चट्याङको समयमा बालकहरू त्यहाँ क्रिकेट खेलिरहेका थिए । यस्तै बिहान सोही समयमा विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीमा चट्याङ लागि सोही स्थान घर भएका २६ वर्षीय कुन्दन दास घाइते भएका छन् ।

शौचालय जाने क्रममा उनलाई चट्याङ लागेको थियो । तत्कालै अमरपट्टी प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले घाइते दासलाई उपचारार्थ नारायणी अस्पताल वीरगन्जमा ल्याएकोमा उनको उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७९ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?