कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

शैक्षिक भ्रमणमा रकम नदिएको भन्दै विद्यार्थीद्वारा नगरपालिका र मेयरको गाडी तोडफोड

विद्यार्थीहरूको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले ९ राउन्ड अश्रुग्याँस र ३ राउन्ड हवाइ फायर गरेको छ। केही सुरक्षाकर्मी र विद्यार्थी घाइते ।
शिव पुरी

रौतहट — शैक्षिक भ्रमणका लागि आर्थिक सहयोग नदिएको भन्दै रौतहटको एक विद्यालयका विद्यार्थीहरूले आइतबार बौधीमाई नगरपालिकाको कार्यलय र नगरप्रमुख चढ्ने सवारी तोडफोड गरेका छन्। तोडफोडमा नगरपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । विद्यार्थीहरूलाई नियन्त्रण गर्ने क्रममा धरपकड हुँदा केही सुरक्षाकर्मी र विद्यार्थी घाइते भएका छन्।

शैक्षिक भ्रमणमा रकम नदिएको भन्दै विद्यार्थीद्वारा नगरपालिका र मेयरको गाडी तोडफोड

बौधीमाई नगरपालिकाको शंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले भ्रमणका लागि आर्थिक सहयोग माग गर्दा नगर प्रमुख प्रदीप यादवले बेवास्ता गरेको भन्दै विद्यार्थीको समूहले कार्यालय र गाडी तोडफोड गरेको हो ।

आक्रोशित विद्यार्थीहरूले नगरपालिकामा ना १ झ १६९३ नम्बरको सरकारी गाडीमा तोडफोड गरेका छन्। उक्त गाडी नगर प्रमुख प्रदीप यादव चढ्ने गर्थे । विद्यार्थीहरूले नगरपालिका परिसरमा राखिएका डोजर, मोटरसाइलका साथै अन्य सवारीसाधनमा पनि क्षति पुर्‍याएका छन् ।

नगरपालिका कार्यालयमा ढुङ्गा प्रहार गरेकाले झ्यालका सीसा फुटेको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले विद्यार्थी समूहले नगरपालिकामा तोडफोड गरेको र स्थिति समान्य भइसकेको बताए ।

शैक्षिक भ्रमणका लागि बजेट छुट्याउन माग गरेको भए पनि नगर प्रमुख यदवले विद्यार्थीको मागलाई बेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको विद्यार्थीहरूले बताए ।

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि केही बेर अवस्था तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड अश्रुग्याँस र ३ राउन्ड हवाइ फायर गरेको जिल्ला कार्यालय गौरका प्रवक्ता डीएसपी सुनिल मल्लले बताए । डीएसपी मल्लका अनुसार विद्यार्थीले प्रहार गरेको ढुंगा प्रहारबाट नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका तीन सुरक्षाकर्मी घाइते भएका छन्।

घटनामा केही विद्यार्थी पनि घाइते भएका छन्। घाइतेको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । नगर प्रमुख यादवले भने आफू विरुद्ध षड्यन्त्र गरी विपक्षीले आक्रमण गराएको आरोप लगाएका छन् ।

'विद्यार्थीहरूले पहिलेदेखि नै शैक्षिक भ्रमणका लागि रकम छुट्याउने माग गर्दै आएका थिए । मैले प्रधानाध्यापकसँग सम्पर्क गरी दुई लाख रुपैयाँ छुट्याउने आश्वासन दिएको थिएँ । तर आज एक्कासी आक्रमण भएको छ। निकै दुखद घटना भयो,' नगर प्रमुख यादवले भने ।

यादवका अनुसार विद्यार्थीहरूसँग शैक्षिक भ्रमणबारे शुक्रबार सकारात्मक कुराकानी भएको थियो । हाल डेंगु संक्रमणका डरले भ्रमणको लागि केही समय धैर्य गर्न भनेको उनले बताए । तर विपक्षीहरूको उक्साहटमा विद्यार्थीले आक्रमण गरेको उनको आरोप छ । तोडफोडबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको नगर प्रमुख यादवको दाबी छ ।

प्रकाशित : आश्विन ९, २०७९ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?