यातायातको फाइल अख्तियारको नियन्त्रणमा- मधेस - कान्तिपुर समाचार

यातायातको फाइल अख्तियारको नियन्त्रणमा

सन्तोष सिंह

धनुषा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय जनकपुरको फाइल नियन्त्रणमा लिएको छ । यातायात कार्यालय वीरगन्जमा सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिनेहरूलाई जनकपुरको सर्भरबाट उत्तीर्ण गरी लाइसेन्स दिएको सार्वजनिक भएपछि आयोगको टोलीले फाइल नियन्त्रणमा लिएको हो ।

आयोगले लाइसेन्ससम्बन्धी गरिएको निर्णय पुस्तिका र अन्य केही फाइल अनुसन्धानका लागि लगेको यातायात कार्यालयले जनाएको छ । कार्यालयका एक कर्मचारीका अनुसार आयोगले जनकपुर र वीरगन्जका कर्मचारीलाई हेभी सवारीसाधन चालकको परीक्षामा यातायात कार्यालय वीरगन्जमा फेल भएका ६२ जनालाई यातायात कार्यालय जनकपुरले मध्यरातमा पास देखाएर लाइसेन्स बाँडिएको बारे जवाफसमेत मागेको छ ।

ट्रायलमा फेल भएका ६२ जनालाई मध्यरातमा पास गराएर बाँडियो लाइसेन्स

यातायात कार्यालय वीरगन्जमा ‘जी’ समूह (हेभी सवारी) चालक अनुमतिपत्रका लागि फारम भरेर प्रयोगात्मक (ट्रायल) परीक्षामा फेल भएका ६२ जनालाई जनकपुरको सर्भरबाट मध्यराति पास देखाइएको थियो ।

यातायात कार्यालय जनकपुरबाट ३ वर्षअघि निलम्बन भएका कर्मचारीको युजर (खाता) प्रयोग गरेर लाइसेन्सका लागि पास देखाइएको हो । यसबारे समाचार आएपछि ६२ जनाकै लाइसेन्स रद्द गरिएको छ ।

यातायात कार्यालय जनकपुरका प्रमुख वीरेन्द्र साहका अनुसार ईडीएलभीआरएस सर्भरमा समस्या आएको दिन कार्यालयको जानकारी बिना सर्भरमा ६२ जनाको नामा इन्ट्री भएको हो ।

जनकपुरको सर्भरबाट वीरगन्जमा फेल भएकालाई पास गराइएको दिन यातायातका तीन कर्मचारी कार्यालयमा आएका थिए । कार्यालय नजिकैको एक होटलमा बसेका विभागका कर्मचारीकै संलग्नतामा अवैध लाइसेन्स वितरण भएको हुन सक्ने उनले आरोप लगाए ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

पुर्ख्यौली पेसा छाड्दै दलित समुदाय

कान्तिपुर संवाददाता

मुगु — सोरु गाउँपालिका–४ का चाउरे कामीलाई आरन चलाएर परिवार पाल्न कठिन छ । कक्षा ५ सम्म पढेर विद्यालय छाडेका उनले ९ वर्षको उमेरदेखि आरनमा काम गर्न थालेका हुन् । ‘बिहानदेखि साँझसम्मै हतौडा समातेर फलाम चुटिरहेको हुन्छ, बलको काम हो, साँझपख जीउ फत्रक्क गल्छ,’ उनले भने, ‘दिनमा १२ घण्टासम्म काम गर्दा पाएको ज्याला र अन्नले परिवार पाल्नै मुस्किल भयो ।’ 

उनले बाबुबाजेले गरेको पेसा न छोड्न सकेका छन् न त्यसलाई व्यावसायिक बनाउन । ‘मेरो पेसाले बालबच्चा पाल्न र घर धान्न सास्ती छ,’ उनले भने, ‘दिनभर फुर्सद पनि हुँदैन, पेटभरि खान पनि पुग्दैन ।’ उनलाई फलामका औजार निर्माण गरे र मर्मत गरेबापत स्थानीयले अन्न ज्याला दिने गरेका छन् । वर्षभरि काम गरेको २ मुरी अन्नले नपुग्ने उनको भनाइ छ । पछिल्लो समय उनले खुकुरी, चुलेसी, हँसिया, कोदाली, कुटो, बेल्चा, घैँटीलगायत औजार बनाएर बजारमा बिक्री गर्न थालेको बताए ।

ती औजारहरूको मूल्य ४ सयदेखि ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनको भनाइ छ । माथिलिब्रु गाउँका भैरे कामी र पञ्चे कामीको अवस्था पनि उस्तै छ । ७५ वर्षीय भैरे र ४९ वर्षीय पञ्चेले पुर्ख्यौली पेसामा दुःख धेरै भए पनि परिवार पाल्न धौधौ परेको गुनासो गरे । ‘फलाम पिट्दै शरीर दुख्ने गरेको, छ यो पेसाले ढुक्कसाथ पेटभरि खान र शरीरमा चाडपर्वमा पनि लुगा लगाउन कहिल्यै पुगेन,’ भैरेले भने, ‘सानैमा पढाइ–लेखाइ भएन, छोरानातिले के गर्ने हुन थाहा छैन, हामीले भने बाबुबाजेले गरेको पेसा छाड्न सकेका छैनौं ।’

झन्डै ४ दशक पहिले बर्दियाको राजापुर र कैलालीको चिसापानी पुगेर फलाम बोकेर ल्याएको उनले सम्झिए । अहिले सदरमुकाम गमगढीबाट फलाम ल्याएर औजार बनाई बेच्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×