१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घुम्ती शौचालय बल्ल प्रयोगमा

शिव पुरी

रौतहट — दुई वर्षदेखि चन्द्रपुर नगरपालिकाले अलपत्र छाडेको घुम्ती शौचालय प्रयोगमा ल्याएको छ । चार वर्षअघि १५ लाखमा खरिद गरेको दुईवटा शौचालय लामो समयदेखि प्रयोगविहीन थियो । एउटा नगरपालिका र अर्को शेरबहादुर दर्लामी खेल मैदानमा त्यत्तिकै बेबारिसे छाडेको थियो । 

घुम्ती शौचालय बल्ल प्रयोगमा

पूर्वपश्चिम राजमार्गमा शौचालय नहुँदा यात्रु समस्यामा परेको भन्दै अघिल्लो कार्यकालमा नगरपालिकाले खरिद गरेको थियो । त्यसैबेला नगरपालिकाले स्थानीय डोम समुदमुख्य चोकमा सञ्चालनमा ल्याएको केही दिएपछि एउटा नगरपालिकाको कार्यालय अगाडि र अर्को खेल मैदानमा छाडिएको हो । लाखौंको खर्च गरेर ल्याएको शौचालय बेबारिसेजस्तै अलपत्र पारेको भनेर नगरपालिका र जनप्रतिनिधिको आलोचना हुन थाल्यो ।

तत्काल एउटा घुम्ती शौचालयलाई पूर्व–पश्चिम राजमार्गमा राखेर सञ्चालन गरिएको नगरप्रमुख सञ्जय काफ्लेले बताए । ‘पहिले किन प्रयोगमा नल्याई राखियो भन्ने विषयमा मलाई थाहा छैन । अब निरन्तर प्रयोगमा आउँछ,’ उनले भने, ‘चाडपर्वको बेला स्थानीय र यात्रुको चाप बढी हुने हुँदा थन्किएको घुम्ती शौचालय सञ्चालनमा ल्याएका हौं । यसलाई व्यवस्थित गर्दै निरन्तरता दिन्छौं ।’ राष्ट्रिय राजमार्गको रूपमा रहेको चन्द्रपुरस्थित पूर्वपश्चिम राजमार्गमा एउटा पनि सार्वजनिक शौचालय छैन । यात्रुहरू छटपिटएर अन्यत्र शौचादी गर्न बाध्य थिए । होटल व्यवसायीहरू पनि खानानास्ता खाएनन् भने शौचादि गर्न नदिने यात्रुको गुनासो थियो ।

यात्रुहरूको खाना र खाजा खाने गन्तव्यका रूपमा रहेको यहाँ सार्वजनिक शौचालय नहुँदा लामो समयदेखि समस्या झेल्दै आएका थिए । बाहिरबाट किनमेल र कार्यालयमा काम गर्न आउने सेवाग्रही पनि शौचालय खोज्दै यताउता भौंतारिन्थे । बढ्दो सवारी आवागमन र यात्रुका कारण सार्वजनिक शौचालय स्थापना माग हुँदै आएको छ । तर स्थान नभएकाले बनाउन सहज नभएको नगरपालिकाले बताउँदै आएको छ । यही कारण घुम्ती शौचालयको अवधारणा ल्याएको नगरप्रमुख काफ्लेले सुनाए । एउटा सञ्चालनमा आए पनि अर्को चन्द्रपुर ६ मा रहेको खेलमैदानमा बेवारिसे अवस्थामा छ ।

लामो समय एक ठाउँमा राखिएकाले शौचालयको पार्टपुर्जामा खिया लाग्न थालेको छ । भने एउटा चक्का चोरी भइसकेको छ । खेल मैदानमा रहेको घुम्ती शौचालय पनि मर्मत गरी पुरानो बजारमा सञ्चालनमा ल्याउने तयारी भइरहेको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । ‘मुख्य व्यापारिक केन्द्र भएकाले नगरभित्रका दक्षिण भेग र बाहिरका मानिस किनमेल गर्न यहाँ आउँछन् । उनीहरू सार्वजनिक शौचालय खोज्न यताउता लाग्छन्,’ उनले भने, ‘शौचालय नहुँदा समस्या देखिएको छ । अब निरन्तर सञ्चालनमा आउँछ ।’

प्रकाशित : आश्विन ९, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?