असहाय र दलितका लागि २४ घर बनाइँदै

रासस

सप्तरी — अतिविपन्न दलित, गरिब, असहाय र अपाङ्गता भएका परिवारका लागि २४ घर निर्माण हुने भएको छ । शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्रप्रसाद गुप्ताले वडा नं-२ स्थित कनकपट्टिमा आवास निर्माण शुभारम्भ गर्दै आवासका कारण कसैले दुःख भोग्न नहुने बताए  ।

हाललाई तराई मधेस समृद्धि कार्यक्रम र वडा नम्बर २ ले विनियोजन गरेको बजेटबाट आवास निर्माण सुरुआत गरिएको उनले जानकारी दिए । ‘बाँकी अन्य लक्षित परिवारका लागि नगरपालिकाको बजेटबाट आवास निर्माणमा सहयोग गरिनेछ,’ उनले भने ।

नगरपालिकाका पाँच सय घरधुरीका लागि छानामा जस्तपाता छाउन सहरी विकास मन्त्रालयमा पहल भइरहेको उल्लेख गर्दै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा आवासको कारणले कुनै पनि जनतालाई दुःख हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

आवास निर्माण कार्यक्रमका लागि तराई मधेस समृद्धि कार्यक्रमको ४० लाख, वडा नं. २ कार्यालयबाट १५ लाख र ह्याविट्याट फर ह्युमानिटी नेपाल र महुली सामुदायिक विकास केन्द्रको ५५ लाख गरी कुल एक करोड १० लाख रुपैयाँ खर्च व्यहोरिएको छ ।

दलित हरूवाचरुवाका लागि सामुदायिक आवास मोडेलको १४ घर र अतिविपन्न, गरिब, असहाय, असुरक्षित र अपांगता भएको १० परिवारका लागि हिल्टी मोडलको घर गरी २४ वटा घर निर्माण गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले जनताको जीवनस्तर उकास्ने काममा सहयोगी संस्थासँग सहकार्य गरिने बताए ।

प्रकाशित : आश्विन ९, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?