कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सालका बिरुवा हुर्काइयो, काँटछाँट अलपत्र

वैज्ञानिक वन कार्यक्रम खारेजीसँगै हातेमालो, जनएकता, जनचाहना, भोर्लेनी, तिलेश्वर, देउराली र नमुना सामुदायिक वनमा हुर्काइएका सालका बिरूवा व्यवस्थापनमा चुनौती
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र सालका पुराना रूख काटेर नयाँ हुर्काइएको छ । वैज्ञानिक वनको अवधारणाअनुसार सालका बिरुवा हुर्काएको हो । तर, संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै खारेज गरेपछि अहिले उक्त कार्यमा समस्या भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

सालका बिरुवा हुर्काइयो, काँटछाँट अलपत्र

चन्द्रपुर–४ र ६ मा सामुदायिक वनको ३.५ हेक्टर क्षेत्रमा सालका बिरुवा रोपिएको थियो । हुर्किंदै गएका सालका हाँगा छाटेर व्यवस्थापन गर्न समस्या परेको डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले बताए । ‘सरकारले वैज्ञानिक वन खारेज गरिसकेको छ । अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपियो,’ उनले भने, ‘प्रदेश सरकारलाई वैज्ञानिक वनबारे ठोस अवधारणा बनाउन अनुरोध गरेका हौं । तर अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

स्थानीय उपभोक्ता संरक्षणमा जुटे पनि सामुदायिक वनका पदाधिकारी प्रदेश सरकारको नीति पर्खेर बसेका छन् । वन क्षेत्रलाई वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा वन क्षेत्रबाट काठ दाउराको आपूर्ति बढ्न गई मूल्य वृद्धिमा शिथिलता आउने तथ्यसहित वैज्ञानिक वनको अवधारणा अघि सारिएको हो । तर, केही जिल्लामा यसैमा अनियमितता बढेको भन्दै सरकारले खारेज गरिदिएको थियो ।

हातेमालो सामुदायिक वनमा २ वर्षअघि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो । जसअनुसार २ सय ३६ वटा रूख कटान गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार यो ८० वर्षे योजना थियो । यस क्षेत्रमा झन्डै १० हजारभन्दा बढी साना साललगायतका रूखका बिरुवा हुर्किंदै गएका छन् । तिनको हाँगा छाट्ने, लहराहरू हटाउने, झाडी बढेको छ भने त्यसलाई बर्सेनि सफा गर्नुपर्नेमा गत वर्षदेखि ठप्प रहेको सहायक वन अधिकृत रामप्रसाद साहले बताए । ‘गत वर्षदेखि कार्यक्रम नै अलपत्र पर्‍यो,’ उनले भने, ‘सालका रूखहरू झ्याम्मिएर हुर्किन समस्या हुन्छ । यसलाई काँटछाट गर्नुपर्छ । तर, वैज्ञानिक वन खारेज भइसकेकाले समस्या भएको छ ।’

वनले यस क्षेत्रमा ५५ वटा पुराना र माउ रूख छाडेको छ । यसले दाना उत्पादन र हुर्किन मद्दत पुग्ने वनका प्राविधिकहरू बताउँछन् । वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन हुन नसके जैविक विविधतामा ह्रास आउने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरणबीचको सन्तुलन बिग्रने उनीहरूको भनाइ छ ।

रौतहटमा हातेमालो, जनएकता, जनचाहना, भोर्लेनी, तिलेश्वर, देउराली र नमुना सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागू गरिएको थियो । अहिले यी सबै क्षेत्र अलपत्र परेका छन् । नेपालमा केही सामुदायिक वन, वृक्षरोपण क्षेत्र र केही मात्र साझेदारी तथा राष्ट्रिय वनबाहेक अधिकांश वनको वैज्ञानिक व्यवस्थापन हुन नसकेको भन्दै ७ महिनाअघि देशभरका डिभिजन वन प्रमुखहरूको काठमाडौंमा सम्पन्न भेलाले वैज्ञानिक वन कार्यक्रमलाई निरन्तरता दिन माग गरेका थिए । तर, सरकारले वास्ता नगरेको वन अधिकृतहरू बताउँछन् ।

मधेस प्रदेश सरकारका वन राज्यमन्त्री नागेन्द्र यादवले वैज्ञानिक वनको कार्यक्रम लागू भएको क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भइरहेको बताए । ‘सालको रूखहरू हुर्किएर बाक्लो भएका छन् । यसलाई काँटछाँट गरेर व्यवस्थित गर्नैपर्छ,’ उनले भने, ‘यस विषयमा हामीलाई डिभिजन वनका प्रमुखहरूले चाँडै टुंग्याउन भनेका छन् । छलफलमा जुटेका छौं ।’

प्रकाशित : आश्विन ७, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?