सालका बिरुवा हुर्काइयो, काँटछाँट अलपत्र- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सालका बिरुवा हुर्काइयो, काँटछाँट अलपत्र

वैज्ञानिक वन कार्यक्रम खारेजीसँगै हातेमालो, जनएकता, जनचाहना, भोर्लेनी, तिलेश्वर, देउराली र नमुना सामुदायिक वनमा हुर्काइएका सालका बिरूवा व्यवस्थापनमा चुनौती
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूह क्षेत्रभित्र सालका पुराना रूख काटेर नयाँ हुर्काइएको छ । वैज्ञानिक वनको अवधारणाअनुसार सालका बिरुवा हुर्काएको हो । तर, संघीय सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै खारेज गरेपछि अहिले उक्त कार्यमा समस्या भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

चन्द्रपुर–४ र ६ मा सामुदायिक वनको ३.५ हेक्टर क्षेत्रमा सालका बिरुवा रोपिएको थियो । हुर्किंदै गएका सालका हाँगा छाटेर व्यवस्थापन गर्न समस्या परेको डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले बताए । ‘सरकारले वैज्ञानिक वन खारेज गरिसकेको छ । अब यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपियो,’ उनले भने, ‘प्रदेश सरकारलाई वैज्ञानिक वनबारे ठोस अवधारणा बनाउन अनुरोध गरेका हौं । तर अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

स्थानीय उपभोक्ता संरक्षणमा जुटे पनि सामुदायिक वनका पदाधिकारी प्रदेश सरकारको नीति पर्खेर बसेका छन् । वन क्षेत्रलाई वैज्ञानिक र दिगो व्यवस्थापन गर्दा वन क्षेत्रबाट काठ दाउराको आपूर्ति बढ्न गई मूल्य वृद्धिमा शिथिलता आउने तथ्यसहित वैज्ञानिक वनको अवधारणा अघि सारिएको हो । तर, केही जिल्लामा यसैमा अनियमितता बढेको भन्दै सरकारले खारेज गरिदिएको थियो ।

हातेमालो सामुदायिक वनमा २ वर्षअघि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको थियो । जसअनुसार २ सय ३६ वटा रूख कटान गरिएको थियो । डिभिजन वन कार्यालयका अनुसार यो ८० वर्षे योजना थियो । यस क्षेत्रमा झन्डै १० हजारभन्दा बढी साना साललगायतका रूखका बिरुवा हुर्किंदै गएका छन् । तिनको हाँगा छाट्ने, लहराहरू हटाउने, झाडी बढेको छ भने त्यसलाई बर्सेनि सफा गर्नुपर्नेमा गत वर्षदेखि ठप्प रहेको सहायक वन अधिकृत रामप्रसाद साहले बताए । ‘गत वर्षदेखि कार्यक्रम नै अलपत्र पर्‍यो,’ उनले भने, ‘सालका रूखहरू झ्याम्मिएर हुर्किन समस्या हुन्छ । यसलाई काँटछाट गर्नुपर्छ । तर, वैज्ञानिक वन खारेज भइसकेकाले समस्या भएको छ ।’

वनले यस क्षेत्रमा ५५ वटा पुराना र माउ रूख छाडेको छ । यसले दाना उत्पादन र हुर्किन मद्दत पुग्ने वनका प्राविधिकहरू बताउँछन् । वन क्षेत्रको दिगो र वैज्ञानिक व्यवस्थापन हुन नसके जैविक विविधतामा ह्रास आउने, जलवायु परिवर्तनको असर बढ्ने, विकास र वातावरणबीचको सन्तुलन बिग्रने उनीहरूको भनाइ छ ।

रौतहटमा हातेमालो, जनएकता, जनचाहना, भोर्लेनी, तिलेश्वर, देउराली र नमुना सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागू गरिएको थियो । अहिले यी सबै क्षेत्र अलपत्र परेका छन् । नेपालमा केही सामुदायिक वन, वृक्षरोपण क्षेत्र र केही मात्र साझेदारी तथा राष्ट्रिय वनबाहेक अधिकांश वनको वैज्ञानिक व्यवस्थापन हुन नसकेको भन्दै ७ महिनाअघि देशभरका डिभिजन वन प्रमुखहरूको काठमाडौंमा सम्पन्न भेलाले वैज्ञानिक वन कार्यक्रमलाई निरन्तरता दिन माग गरेका थिए । तर, सरकारले वास्ता नगरेको वन अधिकृतहरू बताउँछन् ।

मधेस प्रदेश सरकारका वन राज्यमन्त्री नागेन्द्र यादवले वैज्ञानिक वनको कार्यक्रम लागू भएको क्षेत्रलाई कसरी व्यवस्थापन गर्ने भन्ने छलफल भइरहेको बताए । ‘सालको रूखहरू हुर्किएर बाक्लो भएका छन् । यसलाई काँटछाँट गरेर व्यवस्थित गर्नैपर्छ,’ उनले भने, ‘यस विषयमा हामीलाई डिभिजन वनका प्रमुखहरूले चाँडै टुंग्याउन भनेका छन् । छलफलमा जुटेका छौं ।’

प्रकाशित : आश्विन ७, २०७९ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्

नेपालगन्ज म्याराथन रुटलाई मान्यता

कान्तिपुर संवाददाता

काठमाडौँ —  नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्व एथलेटिक्सको सर्वोच्च निकाय वर्ल्ड एथलेटिक्सअन्तर्गत एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड रोड रेस (एम्स) ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो ।

आठौं संस्करणको केही साताअघि एम्सले नेपालगन्ज म्याराथनको रुटलाई मान्यता दिएको थियो । यसपालि नेपालगन्ज म्याराथन मंसिर २४ मा हुनेछ । ‘बिहीबार रातिमात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘चार विधाको अलग अलग प्रमाणपत्र पाएका छौं ।’

एम्सले पठाएको चार प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्स म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेत रोडस्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । अध्यक्ष ठकुरीका अनुसार वर्ल्ड एथलेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।

नेपालगन्ज उपमहानगरदेखि सुरु भई जानकी गाउँपालिकाको केही भू–भाग हुँदै कोहलपुरको कार्यालयदेखि करिब ४ किलोमिटर उत्तरतर्फ बानियाभार पुगेर पुनः सोही रुट हुँदै विपी चोकमा पुगेर म्याराथन टुंगिनेछ ।

प्रकाशित : आश्विन ७, २०७९ १०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×