३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जनकपुरमा राष्ट्रपतिविरुद्ध निरन्तर प्रदर्शन 

श्यामसुन्दर शशि

जनकपुर — नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जिल्लाका राजनीतिक दल तथा संघसंस्थाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् । बिहीबार सत्ता गठबन्धनसम्बद्ध नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरुले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।

जनकपुरमा राष्ट्रपतिविरुद्ध निरन्तर प्रदर्शन 

विरोध जुलुस जनकपुर नगर परिक्रमा गरी जनकचोकमा कोणसभामा परिणत भएको थियो । जुलुसमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्रवण यादव, दीपक यादवसहितका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

नेपालको संविधान मातहात रहेको राष्ट्रपति भण्डारी कार्यकारी अधिकार प्रयोग गर्न खोजेको भन्दै वक्ताहरुले राष्ट्रपति भण्डारीको राजीनामा मागेका थिए । ‘राष्ट्रपति मुलुकको अभिभावक हो तर उनको काम कारबाही एमाले नेताको जस्तो भयो । उहाँले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोजीराख्नुभएको छ,’ माओवादी केन्द्रका नेता दीपक यादवले भने ।

बुधबार तराई मधेस लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पनि जनकपुरमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका थिए ।

तराई/मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले राष्ट्रपति भण्डारी मुलुकको अभिभावक बन्न नसकेको बताए । ‘संविधानले दिने भनेको जन्मसिद्ध नागरिकका सन्तानहरु गैर नागरिक भएर बाँच्न अभिशप्त छ । राजनीतिक दलहरु राजनीति गर्दैछन् । अनि राष्ट्रपतिजी एमालेको कार्यकर्ता जस्तो क्रियाकलाप गर्दैछन्,’ लालले भने ।

प्रकाशित : आश्विन ६, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?