वीरगन्जमा स्थापना हुने चिडियाखानाको वनमन्त्रीद्वारा शिलान्यास

भूषण यादव

वीरगन्ज — वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका-३२ मा स्थापना हुने चिडियाखाना (प्राणी उद्यान) को शिलान्यास गरेका छन् । एक अर्ब रुपैयाँभन्दा बढी लागतमा चिडियाखाना स्थापना हुने वनमन्त्री यादवले जनाएका छन् । 

वीरगन्जमा स्थापना हुने चिडियाखानाको वनमन्त्रीद्वारा शिलान्यास

‘वीरगन्जको रामवनमा स्थापना हुन लागेको यो चिडियाखाना समग्र मधेस प्रदेशको एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा विकास हुने छ,’ वनमन्त्री यादवले भने, ‘साथै यसले यहाँको विकास र समृद्धिका लागि पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’

मन्त्री बनेपछि यादवले पर्सामा चिडियाखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भदौ २७ मा बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक चिडियाखाना स्थापना गर्न स्वीकृति दिने निर्णय गरेको थियो । ‘चालू आर्थिक वर्षमा चिडियाखाना स्थापनाका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ,’ वनमन्त्रीले भने, ‘यसलाई हामीले नेपाल सरकारको बहुवर्षीय योजनामा राखेका छौँ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की संयोजक रहेको ८ सदस्यीय स्थलगत अध्ययन कार्यदलले प्रस्तावित क्षेत्रमा सरोकारवालासँग छलफल, राय सुझाव संकलन, सन्दर्भ सामग्रीहरूको अध्ययन तथा तथ्यांक संकलन गरेको थियो । मन्त्रालयको साउन ४ को निर्णयले कार्यदल गठन भएको थियो ।

प्रस्तावित क्षेत्र समथर भू-भाग रहेको, सहज पहुँच भएको, पानीको स्रोत रहेको, विद्युत्‌को पहुँच भएको बताउँदै कार्यदलले ३.१ हेक्टर जमिनमा विद्यमान अतिक्रमण हटाई सबैया साझेदारीसँग जोडिएको क्षेत्रमा तारबार लगाएर चिडियाखाना स्थापना गर्दा उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले मन्त्रालयलाई पेश गरेका थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार वीरगन्ज ३१ को सोलखपुर र ३२ को रामवनमा प्राकृतिक चिडियाखाना स्थापना भएपछि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ । चिडियाखानाको क्षेत्रफलभित्र पर्ने ३.१ हेक्टर अतिक्रमण हटाई त्यस क्षेत्रसँग जोडिएका सबैया साझेलदारी वन क्षेत्रको सिमानामा तारबार गरिने छ ।

सबैया साझेदारी वनको पूर्वी सिमानामा पर्ने प्रस्तावित चिडियाखानको क्षेत्रफल ५० हेक्टर रहेको छ । जसमा घाँस बुट्यान क्षेत्र ३९.४ हेक्टर, सघन क्षेत्र ७.५ र अतिक्रमण क्षेत्र ३.१ हेक्टर रहेको छ । उष्ण साल वन क्षेत्र रहेको त्याहाँ साल, कर्मा मुख्य प्रजाति रहेको छ । कहिलेकाही घुमन्ते बाघसमेत देखिने गरेको छ । अन्य वन्यजन्तुमा चित्तल, खरायो, वन बिरालो, दुम्सी, पुड्के बँदेल, चौँका, गरुड, सारस पनि देख्न पाइन्छ । घस्रिने जनावरमा कोब्रा, अण्डा खाने सर्प र मुसा खाने सर्प पनि रहने गरेकाले यस क्षेत्रमा चिडियाखाना बनाउन उपयुक्त रहेको मन्त्री यादवले बताए ।

प्रकाशित : आश्विन ६, २०७९ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?