कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सर्लाहीमा स्वास्थ्य संस्था अस्तव्यस्त

‘यो नाम मात्रको स्वास्थ्य चौकी हो, न यहाँ व्यवस्थित भवन छ न त महिला कर्मचारी नै, औषधि पनि मुस्किलले पाइन्छ’
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बलरा नगरपालिकास्थित अधिकांश स्वास्थ्य संस्था अस्तव्यस्त छन् । ती स्वास्थ्य संस्थाहरू भवन, कर्मचारी र औषधिको मार खेपिरहेका छन् । जसले नागरिक स्वास्थ्य संस्थाबाट सहज उपचार सेवा पाउन सकिरहेका छैनन् । बलरा नगरपालिका–५ अर्नाहास्थित स्वास्थ्य चौकी तीनकोठे भवनमा छ ।

सर्लाहीमा स्वास्थ्य संस्था अस्तव्यस्त

तर तीनै कोठा काम लाग्ने अवस्थाका छैनन् । वर्षाको बेला तीनै कोठा चुहिने गरेका छन् । त्यहाँ कार्यरत कर्मचारी कतिपय अवस्थामा छाता ओढेर सेवा दिने गरेको बताउँछन् । पानी चुहिएकै कारण स्टोरमा राखिएको औषधि बिग्रने गरेका छन् । शौचालय र खानेपानीसमेतको यस स्वास्थ्य चौकीमा अभाव छ । यहाँका कर्मचारीहरू खुला रूपमा शौच जाने गरेका छन् । भवनको अभाव खेपिरहेको यो स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि पनि छैन । यहाँ बेलाबेला नागरिकलाई सिटामोलसमेत पाउन धौधौ पर्ने गरेको छ । औषधि नै नपाउने भएपछि सर्वसाधारण स्वास्थ्य संस्थामा जानै छाडेका छन् ।

स्थानीय लालो मण्डलले अव्यवस्थित भवन तथा औषधि अभाव रहेकाले स्वास्थ्य संस्थामा जानै छाडेको बताइन् । मण्डलले स्वास्थ्य संस्थामा महिला कर्मचारी नरहेकाले यस भेगका महिलाहरूलाई आना समस्या राख्न पनि कठिनाइ हुने गरेको गुनासो पोखिन् । उनले केही दिन अघिसम्म यो स्वास्थ्य संस्थामा दुई जना महिला कर्मचारी भए पनि उनीहरू शौचालय नभएका कारण पानी नै नखाई सेवा दिइरहेको जानकारी दिइन् । तर लामो समयसम्म शौचालयको व्यवस्थापन हुन नसक्दा उनीहरू यहाँबाट सरुवा भएर गएकी उनले बताइन् । ‘यो नाम मात्रको स्वास्थ्य चौकी हो, न यहाँ व्यवस्थित भवन छ, नत महिला कर्मचारी नै, औषधि पनि मुस्किलले पाउँछ,’ उनले भनिन् ।

स्वास्थ्य चौकी अर्नाहाका प्रमुख सिनियर अहेव राम बचन साहले भवन चुहिने, झ्याल, ढोका सडिसकेको तथा शौचालय र खानेपानीको अभाव झेलेर काम गरिरहेको जानकारी दिए । खुला शौच गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै साहले वर्षाको बेला यो स्वास्थ्य चौकीमा सेवा प्रदान गर्न झन कठिनाइ भोग्नु परिरहेको बताउँछन् । उनका अनुसार वर्षाको बेला छत चुहिएर ओत लाग्न पनि समस्या हुने गरेको छ । ‘शौचालय र खानेपानीको समस्यै छ, भवनको झ्यालढोकाहरू मक्किसकेका छन्,’ उनले भने, ‘वर्षाको बेला स्वास्थ्य चौकीमा बस्न सक्ने अवस्थै हुँदैन ।’

भवन पुरानै भएर सेवा दिन कठिनाइ भएपछि नयाँ भवन बनाउन वडाले पहल पनि नगरेको होइन तर राजनीतिक किचलोका कारण सफल हुन सकिरहेको छैन । यहाँ तीन वर्ष अघि निर्माण थालिएको स्वास्थ्य चौकीको भवन अलपत्र छ । उपभोक्ता समितिमा तत्कालीन मेयर र वडाध्यक्षबीचको किचलोले भवन बन्न सकेको छैन । स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक वर्ष ०७७/०७८ मा १२ लाख २० हजार खर्चगरेर वडाले जग निर्माणको काम सकेको थियो । तर आर्थिक वर्ष ०७८/०७९ मा भवन बनाउनकालागि २० लाख विनियोजन गरिएकोमा वडाध्यक्ष मनोज मोहन सिंह र तत्कालीन मेयर अभयकुमार सिंहबीचको राजनीतिक टकरावका कारण कामै हुन नसकी रकम फ्रिज भयो ।

वडाध्यक्षले उपभोक्ता समिति बनाएर कामको सुरसार गर्न खोजेकोमा तत्कालिन मेयर अभय सिंहले आफूनिकट दलका कार्यकर्ता उपभोक्ता समितिमा हुनुपर्ने अड्डी कसेपछि कामले गती लिन सकेन । नागरिकले व्यवस्थित स्वास्थ्य चौकी खोजिरहेका बेला भवन निर्माण अलपत्र छ । वडाध्यक्ष सिंहले पालिकाको नेतृत्व परिवर्तन भएपछि यस वर्ष १० लाख विनियोजन गरी भवनको काम अगाडि बढाइने बताए । ‘गत वर्ष तत्कालीन मेयर सावले कामै गर्न दिनुभएन, जसले स्वास्थ्य संस्थाको भवन अलपत्र बन्यो,’ वडाध्यक्ष सिंहले भने, ‘अब नेतृत्व परिवर्तन भएको छ, यो वर्षदेखि अलपत्र भवनको काम सुरु हुन्छ ।’

यस्तै बलरा नगरपालिका–१० सुदामामा वडा कार्यालयको भवनमा दुईवटा सानो कोठाबाट स्वास्थ्य चौकी सञ्चालनमा छ । तर व्यवस्थित छैन । यहाँ पनि पर्याप्त मात्रामा औषधि उपलब्ध छैन । व्यवस्थित हुन नसकेको यो स्वास्थ्य चौकीमा कार्यालय सहयोगी र नर्सिङ स्टापको अभाव छ । ४ जना पारामेडिस्टको भरमा स्वास्थ्य चौकी चलिरहेको छ । बलरा–४ र ६ को स्वास्थ्य चौकी पनि वडा कार्यालयबाट नै सञ्चालनमा छन् । यहाँको अवस्था पनि सुदामा जस्तै छ । वडाले उपलब्ध गराएक् ोएउटा सानो कोठाबाट स्वास्थ्य चौकी सञ्चालन गर्नुपर्ने बाध्यता छ । जसले त्यहाँका बिरामीलाई स्वास्थ्य चौकीबाट सेवा लिन तथा कर्मचारीलाई काम गर्न कठिनाइ भोग्नुपरिरहेको छ ।

बलरा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बालकिशोर यादवले पालिकाका अधिकांश स्वास्थ्य चौकीहरू वडाको भवनबाट सञ्चालनमा आइरहेको जानकारी दिए । उनले यहाँका स्वास्थ्य चौकीहरूमा भवन र कर्मचारी अभाव रहेको जानकारी दिए । बलरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश महतोले औषधि खरिदको प्रक्रियामा रहेकाले तत्कालका लागि जिल्ला अस्पतालबाट औषधि मागेर काम चलाइरहेको बताए ।

बलरा नगरपालिकाका मेयर रामाशंकरप्रसाद कुशवाहाले स्थानीय तह गठनपश्चात् बलराका स्वास्थ्य संस्थामा जनप्रतिनिधिको ध्यानै नपुगेको जानकारी दिए । उनले पुराना नेतृत्वले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक स्वार्थ मात्र खोजेको आरोप लगाए । मेयर कुशवाहाले पालिकाको १० वटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्रको ब्यवस्थापनमा आफू जुटेको बताए । ‘पालिकाको स्वास्थ्य संस्थाहरूलाई व्यवस्थित बनाउने प्रयासमा जुटेको छु, हरेक स्वास्थ्य चौकीको आनै भवन होस र व्यवस्थित होस् भन्ने मेरो योजना छ,’ उनले भने, ‘यस पटकदेखि बजेट छुट्याई योजनाअनुरूप काम अगाडि बढाएका छौं ।’

प्रकाशित : आश्विन ६, २०७९ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?