१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मिटरब्याजी साह पुर्पक्षका लागि जेल चलान

५ बिघा जग्गा पुर्ख्यौली सम्पत्ति भएका साह अहिले ९३ बिघाका मालिक
सुनिता बराल

महोत्तरी — ठगी आरोपमा पक्राउ परेका महोत्तरी भंगाहा ५ का अनिरुद्ध साह पुर्पक्षका लागि जेल चलान भएका छन् । मिटरब्याजबाट गरिब र विपन्नलाई ठगी गरेको आरोपमा मुद्दा लागेका उनलाई जिल्ला अदालत महोत्तरीले जेल चलान गरेको हो । 

मिटरब्याजी साह पुर्पक्षका लागि जेल चलान

महोत्तरी, धनुषासहित तराईका जिल्लामा गरिब तथा विपन्न परिवारलाई ऋण दिएर चार गुणासम्म बढी रकम असुल्ने र जायजेथा हडप्ने गरी जालसाजी कागजात बनाउँदै उठिबास लगाएको भन्दै साहविरुद्ध मुद्दा परेपछि एक महिनाअघि महोत्तरी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत महोत्तरीमा बुधबार भएको बहसपछि उनी जेल चलान भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए । १९ जनाको जाहेरीपछि पक्राउ परेका साहविरुद्ध अहिले पनि जिल्ला प्रहरीमा निवेदन पर्नेक्रम जारी रहेको पंगेनीले बताए । उनीविरुद्ध परेका १९ वटा जाहेरीका आधारमा बहस भएको भए पनि साहविरुद्ध पुनः १५ वटा निवेदन जिल्ला प्रहरीमा दर्ता भइसकेको पंगेनीले जानकारी दिए ।

५ बिघा पुर्ख्यौली सम्पत्ति भएका साहको अहिले ९३ विघा जग्गाजमिन रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको पंगेनीले बताए । प्रहरीका अनुसार २३ बिघा जग्गा साहले आफ्नै नाममा राखेका छन् भने अरु ७० बिघा जग्गा आफन्तको नाममा राखेको उनले बताए ।

गरिब तथा विपन्नले ठगी गरेको आरोपमा उजुरी दिएपछि एक वर्षअघि पक्राउ परेका साह १० महिनाअघि १ लाख ५० हजार रुपैयाँ धरौटी तिरेर छुटेका थिए । अहिले साहविरुद्ध परेका उजुरीमा ठगी गरेको प्रशस्त आधारहरू फेला परेको र उनको सम्पत्ति खोजबिनदेखि थप अनुसन्धान प्रहरीले गरिरहेको एसपी पंगेनीले बताए ।

प्रकाशित : आश्विन ५, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?