कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रपतिविरुद्ध राजविराजमा प्रदर्शन

अवधेशकुमार झा

राजविराज — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको खिल्ली उडाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा कार्यकर्ताहरूले बुधबार राजविराजमा प्रदर्शन गरेका छन् । लोसपाका नेताहरूले सार्वभौम संसद्‌बाट पारित भएको विषयलाई प्रमाणीकरण नगरेर राष्ट्रपतिले संसदीय प्रणालीको समेत उपहास गरेकाले तत्काल राजीनामा दिनुपर्ने माग गरे । 

राष्ट्रपतिविरुद्ध राजविराजमा प्रदर्शन

राजविराजको गजेन्द्रचोकस्थित लोसपाको जिल्ला कार्यालयबाट निस्किएको जुलुस नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रदर्शनमा सहभागीहरूले राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

बजार क्षेत्रभरि प्रदर्शनपश्चात् राष्ट्रपति भण्डारीको पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरी र लोसपा कार्यकर्ताहरूबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो । लोसपाले प्रदर्शन गर्ने सूचना पाएसँगै राजविराज मुख्य बजार क्षेत्रमा नेपाल र सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

‘एकातर्फ राष्ट्रपतिले संविधानको खिल्ली उडाए‚ अर्कोतर्फ प्रहरीले प्रदर्शन गर्न पाउने नेपाली जनताको लोकतान्त्रिक हकलाई कुण्ठित गर्न खोज्दै छ‚’ लोसपाका नेता तथा राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शम्भुप्रसाद यादवले भने, ‘जनतालाई अनागरिक बनाइराख्ने राष्ट्रपतिको कदमले राष्ट्रपति पदको गरिमालाई नै धक्का पुर्‍याएको छ ।’

प्रकाशित : आश्विन ५, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?