राष्ट्रपतिको निर्णयविरुद्ध जनमत पार्टीद्वारा प्रदर्शन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेस प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोध प्रर्दशन सुरु गरेको छ । बुधबार मधेस प्रदेशको सप्तरी, सिरहा, रौतहटलगायत जिल्लामा टायर बाल्नुका साथै राष्ट्रपतिको पुत्ला दहन र सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका थिए । 

राष्ट्रपतिको निर्णयविरुद्ध जनमत पार्टीद्वारा प्रदर्शन

बुधबार बिहानै सिरहामा जनमत पार्टीका कार्यकताले राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको पार्टीका महासचिव चन्दनकुमार सिंहले बताए ।

विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई मधेस केन्द्रित दलले स्वीकार गरेका छैनन् । महासचिव चन्दनले मधेसप्रति सधैं राज्यले हेप्दै आएको गुनासो गरे । उनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु भनेको मधेसलाई फेरि सडकमा उत्रिन बाध्य बनाउनु रहेको बताएका छन् । ‘हामी नागरिक कहिले हुने ?’, उनले भने, ‘राज्यको दमन अब सहिँदैन । विरोध जारी रहन्छ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णयलाई लिएर दलहरू दुई ध्रुवमा बाँडिएका छन् । सत्तारुढ दल र मधेसवादी दलहरूले राष्ट्रपतिको विरोध गरिरहेका छन् भने नेकपा एमाले, राप्रपा नेपाललगायत दलहरू राष्ट्रपतिको पक्षमा देखिएका छन् ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

प्रकाशित : आश्विन ५, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?