१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

राजमार्ग अतिक्रमण गरी टहरा–पसल

सवारी आवागमन र पैदल यात्रुलाई समस्या, दुर्घटनाको जोखिम बढेपछि अतिक्रमण हटाइँदै
शिव पुरी

रौतहट — चन्द्रपुर नगरपालिकामा पूर्वपश्चिम राजमार्गलाई अतिक्रमण गरी राखिएका पसलहरू हटाउन थालिएको छ । सडक डिभिजन कार्यालय, पालिका र उद्योग वाणिज्य संघको समन्वयमा सडक अतिक्रमण हटाउन थालिएको हो । राजमार्गको बीच भागलाई आधार बनाई मुख्य राजमार्गमा २५ र सहायकमा १५ मिटरभित्र बनाइएका घर, टहरा र अतिक्रमण गरी राखिएका ठेला, पसल धमाधम हटाउन थालिएको हो ।

राजमार्ग अतिक्रमण गरी टहरा–पसल

केही वर्षयता चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्ग र गौर–चन्द्रनिगाहपुर सडक क्षेत्रमा अतिक्रमण गरेर पसल थापिएको छ । यस्ता पसल तथा टहराले सवारी आवागमनमा समस्या भई दुर्घटनाको जोखिमसमेत बढेको छ । चन्द्रनिगाहपुर–गौर खण्ड अतिक्रमणकै कारण ७ महिनाअघि सवारी ठक्करबाट एक युवकको मृत्यु भएको थियो ।

त्यसपछि आक्रोशित स्थानीयले मुख्य चोक र गौर खण्डको सडक अतिक्रमण हटाउन दबाब दिएका थिए । तत्कालै अतिक्रमण हटाउन सुरु गरियो । केही समय दुवै राजमार्ग सफा देखियो । पछि विस्तारै ठेला र सवारी पार्किङ बढ्यो । गौर रोडमा जथाभावी पार्किङ र अतिक्रमणले पैदल यात्रुलाई समेत सकस छ । घरधनीले सडकमै निर्माण सामग्री राख्दा आवागमनमा समस्या पार्दै आएको छ ।

पूर्वपश्चिम राजमार्गको मुख्य चोकमा सबैभन्दा धेरै फलफूलका ठेला राख्ने गरिन्छ । केहीले सडकपेटीमै तरकारी राखेर बसेका छन् । मुख्य सडकमै इरिक्सा, टेम्पो, म्याजिकजस्ता सवारी पार्किङ गरिन्छ । अहिले यस क्षेत्रमा ट्राफिक प्रहरीले नो पार्किङको बोर्ड राखी कडाइ गरे पनि जथाभावी पार्किङ रोकिएको छैन । जिल्ला ट्राफिक प्रहरी प्रमुख बिमला कठायतले सबैभन्दा ठूलो समस्या अव्यवस्थित पार्किङको भएको बताइन् । ‘स्थानीय तहले कतै पार्किङको ब्यवस्था गर्न सके समस्या समाधान हुन्छ,’ उनले भनिन् ।

राजमार्गको पश्चिममा जंगलटोलबाट अतिक्रमण हटाउन सुरु गरिएको हो । तर, हटाइएको क्षेत्रमा फेरि पसल थापिएको छ । चन्द्रनगरका नगर प्रमुख सञ्जय काफ्लेले अतिक्रमण हटाउन नपाउँदै पुनः बस्न थालेको जानकारी पाएको र त्यस्तालाई कारबाही गरिने बताए ।

‘जथाभावी ठेला, पसल राख्नाले सडक र पेटीमा समस्या भएको छ,’ उनले भने, ‘पटकपटक हटाउँदै–राख्दै गरेको पाइएको छ । यस्तो कार्य तत्काल बन्द हुनुपर्छ ।’ यसअघि नगरपालिकाले सय दिनको सरसफाई अभियानको नारा दिएर पूर्वपश्चिम र गौर सडक खण्डको अतिक्रमण हटाएको थियो । अभियान सकिएपछि फेरि अतिक्रमण सुरु भएको थियो ।

प्रकाशित : आश्विन ५, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?