टिकटका आकांक्षी केन्द्र धाउँदै

धनुषा — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारका आकांक्षी नेताहरू केन्द्र धाउन थालेका छन् । टिकट वितरणको अधिकार केन्द्रले राखेपछि दबाब बढाउन कार्यकर्ताको दलबलसहित धनुषाका नेताहरू काठमाडौं पुगेका हुन् । 

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली कांग्रेसलगायत दलका नेताहरू काठमाडौं गएका छन् । नेतृत्व तहमा पकड बनाएका नेतालाई अहिले जिल्लाबाट आएका नेता तथा कार्यकर्ता भेटघाटले भ्याइनभ्याइ छ । तर, टिकटको अन्तिम टुंगो भने नेतृत्व तहले लगाउने भएकाले कुनै नेता यतिकैमा विश्वस्त हुने अवस्था नरहेको जसपाका एक नेताले बताए । ‘जति भनसुन गरे पनि अन्तिम निर्णय नेतृत्व तहले नै गर्ने हो,’ उनले भने, ‘भनसुन गरेर नेतृत्वलाई दबाब बनाउने हो । टिकटको अन्तिम टुंगो नेतृत्व तहले गर्ने भएकाले नेताहरू आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।’

धनुषाका एउटा क्षेत्रबाट जसपाले प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय समितिले जिल्ला र जिल्लाले प्रदेशलाई आकांक्षी नेताहरूको नाम सिफारिस गरेको थियो । पाँच दलीय गठबन्धनसहित प्रमुख दलका प्रदेश समितिले सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिसकेको छ । यस्तै, लोसपाका नेताहरू पनि टिकटका लागि काठमाडौं पुगेका छन् । मधेस प्रदेशको ८ जिल्लामा ४/४ गरी ३२ प्रतिनिधिसभा र ८/८ गरी ६४ प्रदेशसभा निर्वाचन क्षेत्र छ । नेकपा एमाले भने गठबन्धनबाट रुष्ट नेतालाई पार्टीमा भित्र्याउनमा केन्द्रित छ । गठबन्धन हुँदा मधेसमा कैयौं नेताको टिकट जोखिममा छ । उनीहरूले पनि टिकट आफूहरूले पाउनुपर्ने भन्दै नेतृत्व तहमाथि दबाब दिएका छन् । गठबन्धनमा तालमेल भइसकेको क्षेत्रमा आकांक्षी बढी देखिएका छन् ।

प्रकाशित : आश्विन ५, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?