३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भ्रमण खर्च नदिएको भन्दै विद्यार्थीले गरे सिम्रौनगढ नगर कार्यालय तोडफोड

लक्ष्मी साह

बारा — बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा विद्यार्थी समूहले मंगलबार तोडफोड गरेको छ । भ्रमण खर्च नदिएको भन्दै कचोर्वा, कंकाली, खजानी माद्यमिक विद्यालयलगायत कक्षा ९ र १० का विद्यार्थीहरूले नगर कार्यालयमा तोडफोड गरेर क्षति पुर्‍याएका हुन् ।

भ्रमण खर्च नदिएको भन्दै विद्यार्थीले गरे सिम्रौनगढ नगर कार्यालय तोडफोड

कार्यालयका झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, गाडी, टिभी, एसी, सोफालगायतमा तोडफोड गरिएको नगरपालिकाका अधिकारीले जनाए । ती अधिकारीका अनुसार लाखौैं रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु नगर प्रमुख किशोरी साह कलवारलाई भेट्न गएका थिए । तर नगर प्रमुख कलवारले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालयमार्फत बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई आश्वासन दिएका थिए । तर, विद्यार्थी समूहले मेयर साहको कुरा अटेर गर्दै कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । विद्यार्थीहरूले ढुंगामुढासमेत गरेका थिए ।

नगर कार्यालय तोडफोडको सूचनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी घटनास्थल पुगेर विद्यार्थीहरुमाथि सामान्य बल प्रयोग गरेको छ । लाठीचार्जले केही विद्यार्थी घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी घटनास्थल पुगेर जानकारी लिएका छन् । प्रहरी उपरीक्षक बोगटीले घटनाबारे विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताए ।

विद्यार्थीको तोडफोडले कार्यालयको दैनिक कार्यसमेत प्रभावित हुने भएको छ । लेखा, आइटी, जिन्सी, योजना शाखाका सबै कम्प्युटर फुटाइदिएका छन् । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको कोठामा समेत क्षति पुर्‍याइएको छ ।

नगर प्रमुख कलवारले केही अराजक विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाए । यसबारे प्रहरीलाई सबै सूचना दिएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

प्रकाशित : आश्विन ४, २०७९ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?