कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सशस्त्र प्रहरी हत्या आरोपित प्रबल जनसेवाश्री सम्मानका लागि सिफारिस

सन्तोष सिंह

धनुषा — उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका व्यक्तिलाई राष्ट्रपतिको कार्यालयले संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्रीबाट सम्मान गर्न नाम सिफारिस गरेको छ । मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको आरोपमा उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका महोत्तरी गौशालाका लक्ष्मी महतोलाई प्रबल जनसेवाश्रीबाट सम्मान गर्न नाम सिफारिस गरेको हो । 

सशस्त्र प्रहरी हत्या आरोपित प्रबल जनसेवाश्री सम्मानका लागि सिफारिस

उच्च अदालतको आदेशअनुसार थुनामा बस्नुपर्नेमा लक्ष्मी महतो अदालतको सम्पर्कमा नआएको जिल्ला अदालत महोत्तरीका श्रेस्तेदार मदन जयसवालले बताए । जिल्ला अदालतको आदेशअनुसार १ लाख धरौटी राखेर तारेखमा रहेका महतो उच्च अदालतको आदेशपछि तारेख तोडेर अदालतको सम्पर्कमा नआएर फरार सूचीमा रहेका महतोलाई सम्मान गर्न नाम सिफारिस गरेको हो ।

सम्मानका लागि जिल्ला प्रशासन कार्यालयहरूबाट समेत नाम सिफारिस हुने गरेको छ । तर, महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले महतोको नाम जिल्लाबाट सिफारिस नभएको बताए ।

उच्च अदालत जनकपुरका न्यायधीश पुष्पराज कोइराला र प्रभा बस्नेत संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न २०७७ मंसिर १९ गते आदेश दिएका थिए । जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश मिलेको नदेखिँदा बदर गरी महतोलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न आदेश भए पनि उनी पक्राउ परेका छैनन् । गौशाला नगरपालिका-२ का ६० वर्षीय लक्ष्मी महतो तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा निर्वाचनमा संघीय समाजवादी फोरमबाट प्रत्याशी हुन् ।

अदालतमा दायर अभियोगपत्रअनुसार कर्तव्य ज्यान अभियोगमा २८ तथा एम्बुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । हत्यामा संलग्न रहेको आरोपमा जलेश्वरका प्रदीप माझी, सञ्जय साह, पवन कापर गरी तीन जना महोत्तरी जिल्ला अदालतको आदेशबाट जलेश्वर कारागारमा थुनामा रहेका छन् । जिल्ला अदालत महोत्तरीमा रामाशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय तारेखमा छन् । अदालतमा हाजिरी नभएका अभियुक्तको नाममा पक्राउपुर्जी जारी गरिएको जिल्ला अदालत महोत्तरीले जनाएको छ । हाजिर नभएकाहरूको सम्पत्ती रोक्का गरिएको छ ।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेसक्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई लाठी, लात्ती, मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्‍याएको थियो । घाइते विकलाई जिल्ला अस्पताल जलेश्वरमा प्रारम्भिक उपचारपछि सशस्त्र प्रहरी बल जिल्ला कमान्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पतालको एम्बुलेन्समा जनकपुर अञ्चल अस्पतला ल्याउँदै गर्दा महोत्तरी-८ सनोखडाको धान खेतमा आन्दानेलनकारीले हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : आश्विन ४, २०७९ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?