लाखौं खर्चिएका उपकरण प्रयोगविहीन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले लाखौं रुपैयाँ खर्च गरेर खरिद गरेका सवारीसाधनसहितका उपकरण प्रयोगविहीन बनेका छन् ।
अवधेशकुमार झा

राजविराज — पालिकाले खरिद गरेका ४ वटा ट्र्र्याक्टर, सेफ्टी ट्यांक सफाई गर्ने एउटा सक्सन मेसिन र एउटा धान काट्ने रिपर मेसिन प्रयोगविहीन अवस्थामा राखिएको हो । ट्र्याक्टर र सक्सन मेसिन पालिका कार्यालयअगाडि थन्काइएको छ भने रिपर मेसिन पालिकाका निवर्तमान अध्यक्ष सतिश सिंहकै घरमा राखिएको छ ।

लाखौं खर्चिएका उपकरण प्रयोगविहीन

पालिकाका प्रशासन शाखा प्रमुख राजुकुमार झाका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ती ट्र्याक्टर खरिद गरिएको थियो । यसअघि ती ट्र्याक्टर पालिकामा हुने विकासनिर्माण कार्यमा माटो पुर्न प्रयोग गरिएको थियो । तर, नयाँ नेतृत्व आएसँगै ती सवारी प्रयोगमा ल्याइएको छैन । ट्र्याक्टरका चालक करारमा राखिएको र साउनदेखि उनीहरूको म्याद थप नभएपछि ट्र्याक्टर थन्काउनु परेको पालिकाको भनाइ छ ।

अर्कोतर्फ, ट्र्याक्टर खरिद गरिएको ३ वर्ष बितिसक्दा पनि पालिकाको नाममा नामसारी भएको छैन । अढाई वर्षसम्म नम्बर प्लेटबिनै ट्रयाक्टर प्रयोगमा ल्याइएको थियो । अहिले अस्थायी नम्बर प्लेट राखिएको छ ।

त्यसैवर्ष खरिद गरिएको सेफ्टी ट्यांक सफा गर्ने सक्सन मेसिनसमेत प्रयोगमा आउन सकेको छैन । गत वैशाख ३० को स्थानिय निर्वाचनअघि यो मेसिन निवर्तमान अध्यक्ष सिंहकै नियन्त्रणमा थियो । नयाँ जनप्रतिनिधि आएसँगै उक्त मेसिन पालिकामा ल्याइए पनि चालक अभावमा मेसिन सञ्चालनमा छैन । धान काटने रिपर मेसिन भने अझै सिंहकै घरमा छ । सिंहले लैजान भने पनि चालक नहुँदा मेसिन ल्याउन नसकिएको पालिकाका सूचना अधिकारी राजेशकुमार झाले बताए ।

तिलाठी कोइलाडी–८ का अध्यक्ष सत्यनारायण यादवले गाउँसभा भएपछि बोर्डको बैठक बस्न नसक्दा मेसिन सञ्चालनमा ल्याउने कार्य अलपत्र परेको बताए ।

पालिका अध्यक्ष अरुणकुमार मण्डलले भने ट्र्याक्टरको नामसारी नभएका कारण प्रयोगमा नल्याएको सुनाए । ‘असारपछि पालिकाको खाता खुल्न सकेको छैन । ट्र्याक्टर नामसारी भएको छैन, चालक पनि छैनन्,’ मण्डलले भने, ‘चाँडै यी सबै विषयको प्रक्रिया सकेर मेसिन सञ्चालनमा ल्याउनेछौं ।’

प्रकाशित : आश्विन ४, २०७९ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?