२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

दल बदलको लहर

एक सातामा जसपाका तीन जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यले पार्टी छाडेका छन् ।
सन्तोष सिंह

धनुषा — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा मधेसमा दल बदलको लहर चलेको छ । समानुपातिक सांसदको सूचीमा पर्न र निर्वाचनमा टिकट पाउन नेताहरू धमाधम पार्टी परिवर्तन गर्न थालेका छन् । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका समानुपातिक सांसदहरू धमाधम पार्टी बदल्दै छन् । जसपाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकाहरूले पनि पार्टी छाडेका छन् । 

दल बदलको लहर

एक सातामा जसपाका तीन जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्यले पार्टी छाडेका छन् । जसपा नेपालकी नेतृ अमृता अग्रहरी एमालेमा प्रवेश गरेकी छन् । आइतबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित कार्यक्रममा अग्रहरी एमालेमा प्रवेश गरेकी हुन् । अग्रहरीलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे । यसअघि जसपा सांसद रेणुका गुरुङ राप्रपामा प्रवेश गरेका थिए । जनकपुरमा आयोजित पार्टी प्रवेश सभामा जसपाका प्रतिनिधिसभा सदस्य रुही नाज पनि एमाले प्रवेश गरेकी थिइन् ।

जसपाका दुई जना प्रदेशसभा सदस्यसमेत एमालेमा प्रवेश गरिसकेका छन् । शुक्रबार साझ जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा. रिना यादव एमालेमा प्रवेश गरेकी थिइन् । मधेस प्रदेश विकास संसदीय समिति सभापति डा. यादव मधेस प्रदेशमा तत्कालीन राजपाबाट समानुपातिक सांसद हुन् ।

भदौ २७ गते जनकपुरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य अन्जु यादव एमाले प्रवेश गरेकी थिइन् । जसपाबाट एमाले प्रवेश गरेकी प्रतिनिधि र प्रदेशसभा सदस्यहरू समानुपातिक सांसदहरू हुन् । समानुपातिकमा नदोहोरिने सम्भावना देखेपछि उनीहरू पार्टी बदलेका हुन् ।

मधेस प्रदेशमा कमजोर मानिएको एमाले पछिल्लो समय विभिन्न दलका सांसद र जिल्ला तहका नेताहरुलाई निर्वाचनको मुखमा पार्टी प्रवेश गराउन थालेका छन् । जनकपुरमा नेपाली कांग्रेसका जिल्ला सभापतिमा पराजय भएका सन्तोष यादवलाई एमालेमा प्रवेश गराउन पार्टी अध्यक्ष केपी शर्मा आफैँ आए ।

जनकपुरलगत्तै ओली सिरहाको चोहर्वामा लक्ष्मीपुर पतारी गाउँपालिकामा जसपाबाट निर्वाचित भएका पूर्वअध्यक्षलाई पार्टी प्रवेश गराए । जनकपुरमा सभा सम्बोधन गरेको दुई सता नबित्दै पुन: लोसपाबाट एमाले प्रवेश गर्न लागेका सांसद उमाशंकर अरगरियालाई पार्टीमा ल्याउन ओली असोज ८ गते जनकपुर आउने कार्यक्रम तय भएको छ । कार्यक्रममा जसपाबाट निर्वाचित पूर्वमेयर पनि एमालेमा प्रवेश गर्ने तयारी गरिएको छ ।

प्रकाशित : आश्विन ३, २०७९ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?