३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

वीरगन्ज नाकाबाट घट्यो आयात

गत वर्ष दिनमै ११ सय वटासम्म गाडीको जाँचपास हुने गरेकामा अहिले ३–४ सय मात्र भित्रिँदै
शंकर आचार्य

पर्सा — मुलुककै मुख्य भन्सार नाका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकी (आईसीपी) बाट मालबाहक सवारीसाधन भित्रिने क्रम घटेको छ । चाडपर्वको मुखमा भारत तथा तेस्रो मुलुकबाट अन्य अवस्थाको भन्दा बढी सवारीसाधन भित्रिनुपर्नेमा यसपटक गत वर्षको यसै अवधिभन्दा तीन गुणाले आयात घटेको आईसीपी सन्चालक इन्टर मोडल यातायात विकास समितिका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले बताए । ‘अहिले सामान्य अवस्थाको भन्दा झन्डै आधाले आयात कम भएको छ,’ उनले भने । 

वीरगन्ज नाकाबाट घट्यो आयात

उनका अनुसार आइतबार भारत हुँदै ४ सय २५ मालबाहक गाडी भित्रिएका थिए । सोमबार यो संख्या ३ सय १८ र मंगलबार ३ सय ६८ थियो । बुधबार मध्यान्ह १२ बजेसम्म जम्मा ७३ गाडी आएका थिए । ‘अघिल्ला वर्षहरूमा चाडपर्व नजिकिँदै गर्दा भन्सारबाट दिनमै ९ सयदेखि ११ सय वटासम्म गाडीको जाँचपास हुने गर्थ्यो । यसपटक यो आँकडा निकै कम छ,’ उनले भने, ‘अहिले चामल, विद्युतीय उपकरणजस्ता वस्तु मात्र बढी भित्रिरहेको छ ।’

चाडपर्वको समयमा पनि आयात घट्नुमा एलसी खोल्नमा कडाई तथा समग्रमा आयातनिर्यात कारोबार नै घट्दै जानु मुख्य कारण रहेको बताउँछन् समिति प्रमुख कमल ज्ञवाली । ‘एकातिर नयाँ सवारीसाधनको आयात ठप्प छ, आयात भइसकेका सवारीसाधन पनि जाँचपास भई छुटेका छैनन्,’ उनले भने, ‘अर्कोतिर समग्रमै आयातनिर्यात कारोबार ओरालो लागेको छ । लामो समयपछि यस्तो अवस्था देखिएको हो ।’

अहिले आईसीपी परिसरमा ठूलो संख्यामा भारत तथा तेश्रो मुलुकबाट आयातित सवारीसाधन अड्किएका छन् । बुधबार मध्यान्हसम्ममा आईसीपीमा कुल २ हजार २ सय ६८ सवारीसाधन जाँचपास गर्न बाँकी रहेकामा १ हजार ७ सय ३५ सवारी नयाँ हुन् । नयाँ सवारीसाधनमा ५ सय ८० वटा कार–जीप र १ हजार १ सय ५५ वटा बस तथा ट्रकका चेसिस छन् । बैंकबाट ‘अटोलोन’ नपाउँदा आयातकर्ताले यी सवारीसाधन जाँचपास गराउन सकेका छैनन् । एकैसाथ धेरै सवारीसाधन अड्किएपछि आईसीपीमा पार्किङ व्यवस्थापनमै समस्या आइरहेको ज्ञवालीले बताए । ‘हामीले सम्भव भएजति समथल र खाली ठाउँमा नयाँ सवारी साधन पार्किङ गरिरहेका छौं,’ उनले भने, ‘आईसीपीको सबै खाली स्थान नयाँ सवारी साधनले खचाखच भरिएको छ ।’

प्रकाशित : आश्विन ३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?