१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जिल्ला भित्रिनेबाट डेंगी विस्तार

सप्तरीमा साउनयता डेंगी पुष्टि भएका सातै जना काठमाडौंबाट आएका 

सप्तरी‚ महोत्तरी — काठमाडौंमा बसेर पढ्ने सप्तरीको तिलाठी कोइलाडी–८ का २३ वर्षीय युवक ज्वरोले थलिएपछि घर आए । गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रको प्रयोगशालामा जाँच गर्दा उनलाई डेंगी संक्रमण भएको पाइयो । केही दिनको बीचमा उनका दाजुमा पनि डेंगी पुष्टि भयो ।

जिल्ला भित्रिनेबाट डेंगी विस्तार

सप्तरीमा साउनयता डेंगी पुष्टि भएका ७ जनामध्ये सबै जिल्लाबाहिरबाट आएकाहरू रहेको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश साहका अनुसार अस्पतालका एक रेडियोलोजिस्ट पनि डेंगीको संक्रमणमा परेका छन् । यसका अतिरिक्त खडग नगरपालिकामा एक तथा सहयोगी समाज नामक संस्थाका एक कर्मचारीमा पनि डेंगी पुष्टि भएको छ । ‘सबैको ट्राभल हिस्ट्री काठमाडौंसँगै जोडिएको छ,’ स्वास्थ्य प्रमुख यादवले भने, ‘यस पटक डेंगी राजधानीबाटै यता सरेको देखिन्छ । स्थानीयस्तरमा डेंगीको संक्रमण देखिएको छैन, राजधानीबाटै आएकाहरूमा संक्रमण छ ।’

चाडपर्वको मुखमा काठमाडौंबाट घर फर्किनेको संख्या बढ्ने भएकाले जिल्लामा डेंगी संक्रमण अझै बढ्न सक्ने मेसु साहले बताए । तर, संक्रमण न्यूनीकरणका लागि स्थानीयस्तरमा कुनै पहल भएको छैन । स्वास्थ्य कार्यालय र स्थानीय तहहरू एकअर्कालाई देखाउँदै जिम्मेवारीबाट पन्छिरहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख यादवले लामखुट्टे मार्ने औषधि छर्किन तथा जनचेतना जगाउनका लागि पालिकाहरूलाई आग्रह गरिएको बताए । मंगलबार मात्र तिलाठी कोइलाडी गाउँपालिकाको कार्यपालिका बैठकले लामखुट्टे मार्ने औषधि छर्किनका लागि स्वास्थ्य कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ । अहिले पालिका र स्वास्थ्य कार्यालयबीच एकअर्कालाई पत्राचार भइरहेको छ, डेंगी रोकथाममा कुनै प्रयास गरिएको छैन ।

बर्दिवासमा देखियो जापनिज इन्सेफ्लाइटिस

महोत्तरीको बर्दिवासमा लामखुट्टेको टोकाइबाट हुने जापनिज इन्सेफ्लाइटिस रोगको संक्रमण देखिएको छ । बर्दिवास नगरपालिका–१० की ७० वर्षीया महिलामा इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार साउनदेखि नै बिरामी ती महिलाको काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा नमूना परीक्षण गर्दा जापनिज इन्सेफ्लाइटिस रोग पत्ता लागेको हो । हाल उनको वीर अस्पतालमा उपचार भइरहेको र अवस्थामा केही सुधार भएको छ । जापनिज इन्सेफ्लाइटिस संक्रमण देखिएसँगै गाउँमा डब्लूएचओका चिकित्सकसहित नगरपालिकाका स्वास्थ्यकर्मीको टोली पुगेको छ ।

डब्लूएचओका लागि सर्लाही, महोत्तरी र धनुषा हेर्ने डा. सुरेशकुमार शुक्लालगायतको टोली बिरामीको घरमा पुगेर लामखुट्टेको टोकाइबाट बच्न, सरसफाइमा ध्यन दिन र सुरक्षित रहन सचेत गराएको छ । बर्दिवासमा डेंगीका बिरामी पनि बढिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म १५ जनाभन्दा बढीमा डेंगी पुष्टि भइसकेको छ । जापनिज इन्सेफ्लाइटिस पनि देखिएपछि थप सचेत रहन र लामखुट्टेको टोकाइबाट बच्न शाखाले अनुरोध गरेको छ ।

प्रकाशित : आश्विन ३, २०७९ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?