जितिया पर्व सुरु

श्यामसुन्दर शशि

जनकपुर — नहाय–खाय अर्थात् पवित्र जलाशयहरुमा स्नान तथा पूजा गरी मिथिलाञ्चलको विकटम् पर्व, जितिया शुक्रबारदेखि सुरु भएको छ । प्रत्येक वर्ष भाद्र कृष्णपक्षको अष्टमी तिथिको दिन जितिया पर्व मनाउने परम्परा भए पनि यसको आरम्भ भने षष्ठी तिथिबाटै हुन्छ ।

जितिया पर्व सुरु

तीन दिवसीय यस विकट पर्वको पहिलो दिन व्रतीहरू ‘नहाय खाय’अर्थात नुहाएर खान्छन् । दोस्रो दिन बिहान सूर्य उदय हुनुपूर्व ‘अंगुठन’ गर्छन् । अंगुठन यस व्रतको रोचक पक्ष हो । बिहानै काग कराउनुअघि व्रतीहरू घिरौलाको पातमा च्युरा दही, केरा, अमोट (आँपको रसबाट बनाएको परिकार) आदि प्रसाद चढाई सपरिवार प्रसादको रुपमा ग्रहण गर्छन् । पितृपक्षमा गरिने हुने यस पर्वमा व्रती महिलाहरू आ-आफ्ना स्वर्गीय आमा, सासुलगायत मृतक महिला पितृहरुलाई नैवेद्य चढाउने गर्छन् ।

यो व्रत पवित्रताका साथ मनाइने हुँदा व्रतीहरु स-साना बालबालिकालाई यसको प्रसाद पर्यन्तबाट टाढा राख्छन् । व्रत बसेको अवधिमा मुखले सिन्कासम्म टोक्नु हुँदैन ।

व्रतको दोस्रो दिन व्रतीहरू पवित्र सरोवरहरुमा स्नान गरी जिमुतवाहनको कथा सुन्छन् । कथामा व्रतको फलबारे जानकार पण्डित/पुरोहित वा प्रौढ महिलाहरूले व्रतीलाई कथा सुनाउँछन् । कथा सुन्न सयौं बर्तालु गंगासागर, धनुषसागर तथा महाराजसरलगायत पोखरी तथा दूधमती, कमला, जमुनी र जलादसदृश्यका पवित्र नदीहरूको डिलमा भेला हुने गर्छन् ।

अन्य पर्वको पूर्वसन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्वसन्ध्यामा भने ‘माछ- मरुवा’(माछा र कोदोको रोटी) खाने चलन छ । जसलाई ‘माछ-मरुवा ’ पनि भनिन्छ । मंगलबार बिहानैदेखि निराहार बस्ने व्रतीहरू बुधबार अपराह्न ४ बजेपछि मात्र अन्न-जल ग्रहण गर्ने गर्छन् ।

सन्तानको दीर्घायु तथा सुख समृद्धिका लागि गरिने यस पर्वको मिथिलामा विशेष महत्त्व छ । ठूलो दुर्घटना वा कुनै विपद्‌बाट जोगिएपछि यहाँ उखान नै छ- तोहर माय खर जितिया कैने छलौ तें बाँची गेले । अर्थात् तिम्रो आमा जितिया व्रत बसेकी थिइन्; त्यसैले तिम्रो ज्यान जोगियो ।

प्रकाशित : भाद्र ३१, २०७९ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?