कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतीय अर्केष्ट्राबाट उद्धार गरिएका ४ किशोरी स्वदेश फर्किए 

शंकर आचार्य

पर्सा — भारतको विभिन्न अर्केष्ट्राबाट उद्धार गरिएका ४ नेपाली किशोरीलाई सय दिन पछि स्वदेश फर्काइएको छ । माइती नेपाल वीरगन्ज आवधिक गृहले उनीहरुलाई बुधबार राति ९ बजे वीरगन्ज ल्याएको हो । उनीहरु भारत बिहारको मोतिहारीस्थित बालिकागृहमा आश्रित थिए ।

बिहारको रामवगढवा थानाको प्रहरी टोलीले उनीहरुलाई जुन ४ तारिखमा छापा मारी रामगढवाको कोठी रोडस्थित विभिन्न ४ वटा अर्केष्ट्राबाट उद्धार गरेको थियो । उद्धार गरिएका चेलीहरुका सिरहाका १५ र १७ वर्षीया तथा सुनसरीका १८ र २१ वर्षीया छन् । अर्केष्ट्राबाट ९ जनालाई उद्धार गरिएकोमा ४ जना त्यहाँ गरिएको मेडिकल टेष्ट पछि नाबालिक ठहरिएका थिए ।

उद्धार गरिएका सबै चेलीहरुलाई मोतिहारी जिल्ला अदालतले मुद्दाको कारबाही प्रक्रिया चलुन्जेल आश्रयका लागि बालकल्याण समिति मोतिहारीमार्फत बालिकागृहको जिम्मा लगाएको थियो । समितिले त्यसपछि माइती नेपाल वीरगन्ज आवधिक गृहलाई ती किशोरीहरुको विवरण पठाई ठेगाना तथा अभिभावकहरुबारे जिज्ञासा राखेको थियो । त्यसपछि माइती नेपालले ९ जनै किशोरीहरुको अभिभावकसँग सम्पर्क स्थापित गरेको थियो । ९ मध्ये ५ किशोरी ३ पटकमा गरी स्वदेश फर्किएका थिए भने बाँकी ४ जना एकै पटक स्वदेश फिर्ता ल्याइएका हुन् ।

स्वदेश फिर्ता ल्याइएका ४ किशोरीहरुका अभिभावक आउन ढिला हुने भएपछि माइती नेपाल वीरगन्ज आवधिक गृहले बिहीबार माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौं पठाइदिएको गृहकी प्रमुख गोमा पौडेलले बताइन् । उनीहरुका अभिभावक काठमाडौं पुगेर छोरी जिम्मा लिनेछन् । माइती नेपाल वीरगन्ज आवधिक गृहले यस वर्षको जनवरीदेखि हालसम्म वीरगन्जस्थित नेपाल-भारत सीमा तथा भारतबाट समेत ६८ जनाको उद्धार गरिसकेको छ । ती मध्ये करिब डेढ दर्जन भारतीय अर्केष्ट्राबाट उद्धार गरी ल्याइएका हुन् ।

जनवरीमा १३, फेब्रुअरीमा ४, मार्चमा २२, अप्रिलमा २, मेमा ४, जुनमा ११, जुलाईमा ५, अगस्टमा ३ र सेप्टेम्बर महिनामा ४ किशोरी तथा बालिकाको उद्धार गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?