कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुख्यमन्त्री कार्यालय सचिवविहीन

प्रमुख सचिव राउत र सचिव मग्रंरातीको बिदा लम्बिँदै, अर्कोको सरुवा
सन्तोष सिंह

जनकपुर — एक प्रमुख सचिव र दुई सचिवको भरमा चलेको मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लामो समयदेखि सचिवविहीन बनेको छ । प्रमुख सचिवलगायत अन्य सचिव नहुँदा मधेस सरकारको गतिविधि प्राय: ठप्प छ । 

मुख्यमन्त्री कार्यालय सचिवविहीन

मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत दुई सातादेखि जनकपुरबाहिर छन् । स्रोतका अनुसार उनी आफ्नो सरुवा अडान राखेर विराटनगरमा बसिरहेका छन् । मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई सरुवा नहुञ्जेल जनकपुरमै बसेर काम गर्न आग्रह गरे पनि उनी भने सरुवाकै अडानमै कार्यक्षेत्रबाहिर लामो समयदेखि बसिरहेका छन् ।

‘केही महत्त्वपूर्ण निर्णय गर्न मन्त्रिपरिषद्को बैठक राख्नुपरेको छ । तर, मेरै कार्यालयमा प्रमुख सचिव र अरु अन्य सचिव नहुँदा समस्या भइरहेको छ,’ मुख्यमन्त्री राउतले कान्तिपुरसँग भने,‘प्रमुख सचिवज्यूलाई धरै पटक आउन आग्रह गरे । तर, उहाँ सरुवाका जिद्दी गरेर विराटनगरमा बसिरहेका छन् ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अर्का सचिव मेखबहादुर मंग्रराती पनि लामो समयदेखि बिदामा छन् । प्रमुख सचिव राउत नहुँदा मंग्रराती निमित्त प्रमुख सचिवको हैसियतमा मन्त्रिपरिषद्को बैठकमा बस्ने गरेका थिए । तर, सचिव मंग्रराती पनि जनकपुर नफर्किने गरी बिदामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । ‘सचिवको सरुवा र बढुवा गर्ने निकाय हामी होइन,’ मुख्यमन्त्री राउतले भने,‘सरुवा नहुञ्जेलसम्म त आफ्नो कार्यक्षेत्रमा बस्नुपर्छ नि । कुनै पनि सचिव नहुँदा मुख्यमन्त्री कार्यालय मात्र होइन, मधेस सरकारकै काम प्रभावित बनेको छ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्का सचिव शिवनाथ पौडेलको भने सरुवा भएको छ । उनी साताअघि नै जनकपुरबाट हिँडे पनि उनको स्थानमा अर्को सचिव आइपुगेका छैनन् । मधेस सरकारका प्रमुख सचिव राउतको भने मोबाइल स्विच अफ छ । उनले मुख्यमन्त्री राउतलाई एसएमएस पठाएर ‘सरुवाका लागि प्रयासरत छु । अर्कै प्रमुख सचिव ल्याउन जोडवल गर्नुहोला’ आशयको सन्देश पठाएका छन् । ‘कुनै पनि सचिव नहुँदा मुख्यमन्त्री कार्यालय बेकामे बनेको छ,’ मुख्यमन्त्री कार्यालयका एक अधिकृतले भने,‘हाम्रो काम पनि आउने, हाजिरी गर्ने र फर्किने नै भइरहेको छ । नयाँ आर्थिक वर्षको काम पनि थालिएको छैन ।’

सचिव नहुँदा मधेस प्रदेशका कर्मचारी वढुवासम्बन्धी निर्णयको प्रतिलिपि लिन जनकपुर प्रादेशिक अस्पतालका चिकित्सक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई दिनदेखि धाइरहेका छन् । कार्यालयमा प्रमुख सचिव र अन्य सचिव नहुँदा उनीहरू रित्तो हात फर्किन्छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवस्तरीय समितिले प्रशासनतर्फका कर्मचारीको बढुवा गरे पनि स्वास्थ्यतर्फका ८औं तहका चिकित्सकलाई बढुवा गरेको छैन ।

मुख्यमन्त्री कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको इन्धनको स्वीकृतिलगायत कार्यालयको सबै गतिविधि ठप्प छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव र अन्य दुई सचिव कार्यालयमा नहुँदा कार्यालय नै ठप्प छ । मधेस प्रदेशको मुख्यालय मुख्यमन्त्रीको कार्यालय सुनसान बनेको छ । कार्यालयमा सचिव नहुँदा अन्य फाँट पनि सुनसान छन् ।

प्रमुख सचिव राउत, प्रशासन तथा बैठकको जिम्मेवारी पाएका सचिव मंग्राती बिनाजानकारी कार्यालयमा अनुपस्थित छन् भने योजना महाशाखाका सचिव पौडेल सरुवा हुँदा मुख्यमन्त्री कार्यालय सचिवविहीन बनेको छ । मुख्यमन्त्री कार्यालयमा सचिव नभएकै कारण पटकपटक मन्त्री परिषद्को बैठकको मिति तोकिए पनि बस्न सकेको छैन ।

प्रकाशित : भाद्र ३०, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?