१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडकमै हाटले दुर्घटनाको जोखिम

शिव पुरी

रौतहट —  सडक नै अवरुद्ध हुने गरी रौटहटका विभिन्न स्थानमा हाटबजार सञ्चालन गरिएपछि दुर्घटनाको जोखिम बढेको छ । बजारलाई व्यवस्थित गर्न पालिकाहरूले चासो नदिएपछि दुर्घटना हुने सम्भावना बढेको हो । 

वृन्दावन नगरपालिकाको हरसाह चोकमा सडकमै बजार लाग्ने गरेको छ । यमुनामाई गाउँपालिकाका झुन्खुनुवा, सुकदेवचोक, राजपुर र भेडियाही चोकमा साताको दुई दिन बुधबार र आइतबार बजार लाग्छ । चन्द्रपुर नगरपालिकाका डुमरिया, बालचनपुर, गरुडा नगरपालिकाका गरुडा बजार, शिवनगर, जयनगरमा व्यापारीहरूले सडकै बजार लगाउने गरेका छन् ।

व्यापारीले सडकमै तरकारी, फलफूल, मासु तथा खाद्यान्नलगायत सामान राखेर बेच्दै आएका छन् । उपभोक्ताको भीडले सवारी आवागमन प्रभावित हुने गरेको छ । पालिकाहरूले बजार सञ्चालनका लागि ठेक्का लगाउने गरेका छन् । तर, व्यवस्थित गर्न भने चासो दिएका छैनन् । अव्यवस्थित भएकाले बजार नै कुरूप देखिने गरेको छ ।

यस्ता हाट बजार व्यवस्थित गर्नेबारे मंगलबार चन्द्रपुरमा सरोकारवालासहितको छलफल आयोजना गरिएको छ । कार्यक्रममा सडकमै बजार लगाउने प्रवृत्ति बढेको भन्दै स्थानीय तहले चासो लिएर भित्री स्थानमा बजार सार्नुपर्नेमा सहभागीले जोड दिए । ‘रोड नै ढाकिने गरी बजार लगाउने गरेका छन्,’ ट्राफिक प्रहरी निरीक्षक बिमला कठायतले भनिन्, ‘उपभोक्ताको भीडले दुर्घटना हुने सम्भावना बढेको छ । पालिकाले यस्तो कुरामा ध्यान दिनुपर्ने हो ।’

यमुनामाईका अध्यक्ष महमद सउदले बजार व्यवस्थित गर्न पहल थालेको बताए । ‘ठाउँ अभावले व्यवस्थित गर्न नसकेका हौं,’ उनले भने, ‘अन्यत्र फराकिलो स्थानमा बजार सार्ने तयारी हुँदै छ ।’

वृन्दावन नगरप्रमुख विनोद पटेलले सुरक्षित स्थानमा बजार लगाउन काम थाल्ने प्रतिबद्धता गरे । राजमार्गमा बजार नलगाउन पटकपटक भनिसकेको चन्द्रपुरका नगरप्रमुख सन्जय काफ्लेले बताए । ‘हामी अन्यत्र बजार राख्ने तयारीमा छौं,’ उनले भने, ‘यसका लागि जग्गा हेर्दै छौं ।’ प्रजिअ कृष्णबहादुर शाहीले पालिकासँगको समन्वयमा सडकबाट बजार हटाउन पहल थाल्ने बताए ।

प्रकाशित : भाद्र ३०, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?