बलात्कार पीडितलाई दबाब

लक्ष्मी साह

बारा — बाराको कलैया उपमहानगरपालिका–८ मा विपन्न दलित परिवारकी १६ वर्षीया किशोरी छिमेकी युवकबाट बलात्कृत भइन् । गत साउन ५ को उक्त घटनाको जाहेरी प्रहरीमा परेपछि आरोपित युवक फरार छन् । त्यसयता युवकको परिवारले तनाव र दबाब दिएको पीडित परिवारले गुनासो गरेका छन् । 

किशोरी र आरोपित १८ वर्षीय युवक एकै विद्यालयमा अध्ययनरत थिए । किशोरी १० र युवक ११ कक्षामा पढ्छन् । एक पक्षीय रूपमा मन पराएका युवकले किशोरीको घरमा राति पसेर जबर्जस्ती गरेको पीडित पक्षको भनाइ छ । किशोरीले कराएपछि परिवारले थाहा पाएका थिए । त्यसपछि छरछिमेक र जनप्रतिनिधि मिलेर युवकसँगै विवाह गराइदिन पञ्चायती बसेको खुलेको छ ।

उमेर नपुगेकाले अहिले टीकाटालो गरी पछि विवाह गराइदिने जनप्रतिनिधिसहितको रोहबरमा सहमतिसमेत भएको थियो । सहमतिअनुसार किशोरीको अभिभावकले १ लाख नगद र एउटा मोटरसाइकल दाइजो दिनुपर्ने भयो । तर, किशोरीको आमाले नमानेपछि यो घटना प्रहरीसम्म पुगेको हो ।

वडाध्यक्ष रञ्जित चौरसियाले उमेर पुगेपछि केटाकेटीको विवाह गर्ने सहमति दिएको स्विकारे । ‘दुवै जना नाबालिग भएकाले विवाह गर्न कर गरेनौं । पछि सहमति भंग भयो । पीडितलाई कानुनी बाटो रोज्न भन्यौं,’ उनले भने । उजुरीपछि प्रहरीले साउन २० मा कलैया अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरेको छ । उजुरी दर्ता भएको १ महिना बित्न लागे पनि युवक पक्राउ परेका छैनन् ।

किशोरीका बुबाले प्रहरीमा उजुरी दिएपछि पीडक पक्षको परिवारले दिनहुँ गालीगलौज गर्ने गरेको बताए । ‘न्याय खोज्दा घरमा शान्तले खान, बस्न दिएको छैन,’ उनले भने, ‘तनाव दिने र दिनहुँ गालीगलौज गरेको गर्यै छ । विवाहको प्रलोभन दिएर समय कटाए ।’ पीडित किशोरीले पैसाको प्रलोभन दिएर घटना मिलाउन दबाब आइरहेको बताइन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पीडक किशोरलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएर खोजी भइरहेको बताए । ‘किशोरीको स्वास्थ्य परीक्षण भएर उजुरी दर्ता भइसकेको छ,’ उनले भने, ‘पक्राउ परेपछि थप अनुसन्धान र कारबाही हुन्छ ।’

प्रकाशित : भाद्र २८, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्

कारागारमा क्षमताभन्दा दोब्बर कैदी

कान्तिपुर संवाददाता

रौतहट — गौर नगरपालिकास्थित कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । १ सय ६० जना क्षमताको भवनमा ३ सय ८२ कैदीबन्दीलाई राखिएको हो । कारागार विभागले पुग्दो बजेट नदिएपछि जीर्ण कारागार मर्मतमा समस्या भएको जेल प्रशासनको भनाइ छ । 

कारागारका तीन भवनमध्ये एउटा निकै पुरानो छ । दुईवटा भवन पनि दाताले बनाइदिएका हुन् । कारागारको मूल भवन ८७ वर्ष पुरानो हो । विसं १९८९ मा कारागार स्थापना भएको थियो । क्षमताभन्दा बढी कैदीबन्दीले बस्न समस्या हुन थालेपछि केही महिनाअघि उधारो सामान मगाई तला थपेर जस्तापाता लगाइएको जेलर शम्भु यादवले बताए । यादवका अनुसार ठाउँ अभावमा कैदीबन्दीहरू केही भर्‍याङ र भान्सा घरमा सुत्ने गरेका थिए ।

‘अहिले माथिल्लो तलामा अस्थायी रुपमा कैदीलाई बस्न सुत्न हुने बनाइएको छ,’ उनले भने, ‘यसरी चन्दा उठाएर कतिन्जेल काम चलाउनु ? कारागार बलियो भएन भने समस्या हुन्छ ।’ वर्षायाममा कारागार भित्र र बाहिर कम्पाउन्डमा पानी जम्ने समस्या पनि छ । २०७२ सालको भूकम्पले कारागारको पुरानो भवन चर्किएको छ । पुरानो जीर्ण भवन कुनै पनि बेला भत्किने डरले रातभरि सुत्न नसकेको कैदीबन्दीको गुनासो छ । कारागारमा अहिले लागूऔषध, सवारी ज्यान, कर्तव्य ज्यान, चेलीबेटी बेचबिखन, मानव ओसारपसार, अपहरण तथा शरीर बन्धक, जबर्जस्ती करणीलगायत मुद्दामा कैदीबन्दी छन् ।

प्रकाशित : भाद्र २८, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×