कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बहाना बनाउँदै, म्याद थप्दै

बजेट, निर्माण सामग्रीको अभाव र वर्षाको कारण देखाउँदै पुल तथा सडक निर्माणमा ढिलाइ
शिव पुरी

रौतहट — रौतहटमा ठेकेदार कम्पनीले विभिन्न बहाना बनाई पुल र सडक निर्माणमा ढिलाइ गर्दै आएका छन् । कहिले बजेट अभाव त निर्माण सामग्रीको समस्या, कहिले वर्षाको कारण देखाउँदै उनीहरूले काम अलपत्र पार्दै आएका हुन् ।

बहाना बनाउँदै, म्याद थप्दै

सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गरे पनि काम सक्न अटेरी गर्दै आएका छन् । अर्कोतर्फ उनीहरू ठेक्काको म्याद थप्न सफल हुँदै आएका छन् ।

ठेकेदार कम्पनीले चन्द्रपुर–३ स्थित गैंडाटार जाने सडकमा पुल निर्माण अलपत्र छाडेका छन् । चन्द्रपुर बजार र गैंडाटारको ३ नम्बर वडालाई जोड्ने चांदी पुलको ठेक्का शिवशंकर र पप्पु कन्स्ट्रक्सन जेभीले २५ करोड ३६ लाखमा रुपैयाँमा सकारेको थियो । जेभीले २०७६ असार ३१ मा निर्माण सक्नेगरी २०७३ असार ३१ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार काम सक्नुपर्नेमा अहिलेसम्म ६५ प्रतिशत मात्र भएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

पुलको म्याद सकिएर २०७८ चैत ३० सम्मका लागि थपिएको थियो । काम पूरा नभएपछि अहिले फेरि म्याद थपको प्रक्रियामा रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर यादव सुवेदीले बताए । समयमा पुलको काम सकेको भए पारी गैंडाटार गाउँका स्थानीयलाई आवतजावतमा सुविधा हुन्थ्यो । तर, सम्झौता सकिएर पटकपटक म्याद थप भए पनि पुल निर्माणले गति लिन सकेको छैन ।

ठेकेदार दयाराम साहले बजेट, वर्षा, निर्माण सामग्रीको अभाव तथा विभिन्न बहाना देखाएर म्याद थप्न निवेदन दिएका छन् । पुलको १० वटा पिलरको ११ वटा स्पान राख्नुपर्नेमा अझै पूरा हुन सकेको छैन । यसअघि स्थानीयले निर्माण सक्न दबाब दिँदै सडक डिभिजनलाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि कार्यालयले ठेकेदार साहलाई बोलाएर काम सक्न दबाब दिएको थियो ।

तोकिएको समयभित्र सम्पन्न नगरेको र पटकपटक ताकेता गर्दा अटेर गरेको भन्दै रौतहट/सर्लाहीभित्रको २४ वटा आयोजनाको ठेक्का लिएका निर्माण कम्पनीको ठेक्का तोड्ने र कालोसूचीमा राख्न सडकले गएको माघ २७ मो सूचना प्रकाशित गरेको थियो । आयोजनाको काम ओगटेर सम्पन्न नगरी विभिन्न बहाना बनाएका निर्माण कम्पनीलाई ७ दिनभित्र लिखित कारण र पुष्टयाइँसहित पेश हुन सूचना जारी गरिएको थियो ।

रोशन कन्स्ट्रक्सन जनकपुरले २०७२ सालमा ठेक्का सकार गरेको निजगढ फास्ट ट्रयाक मेवा सडकको काम पनि अलपत्र छ । कम्पनीलाई पनि सडक कार्यालयले कारबाहीको दायरामा ल्याउन खोजेको थियो । रोशनले २०७२ मै ठेक्का सकार गरेको पथराबुधरामस्थित भकुवा नदीको पुलको काम पनि ६५ प्रतिशत मात्र सकेको छ । शिवशक्ति निर्माण सेवाले मत्सरीस्थित बोर्डर र कुडिया सडकको काम सकारेर अलपत्र छाडेको छ । एसएस विश्वन्त जेभीले गडहिया, बाग्मती, गौर, भरुवा नदी र कटहर्वा सडकको काम सुरु गरेको छैन । २०७४ मा ठेक्का सरकारेको जेभीलाई अग्रिम जमानतका लागि बैंकमा पत्राचार गरेको सडक कार्यालयले जनायो । समयमा लिखित कारण र पुष्टयाइँसहित पेस नभएमा ठेक्का तोड्नेदेखि निर्माण कम्पनीलाई कालोसूचीमा राख्नेसम्मको कारबाही गर्न सडक कार्यालय प्रक्रिया अघि बढाएको थियो ।

पप्पु कन्स्ट्रक्सनले रौतहटमा शिवशंकर कन्स्ट्रक्सनसँगको जेभीमा ३ वटा र गौर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलको एक्लैले ठेक्का सकार गरेको छ । उसले लमाहा, लौकाहा, तरहरी, लालबकैया र चाँदी नदीमा पुल निर्माणको ठेक्का सकारेर सम्झौताअनुसार काम सम्पन्न गरेको छैन । चारवटै ठेक्काको ४ देखि ५ वर्षमा पनि काम सकेको छैन । सडक डिभिजनका अनुसार रौतहटतर्फ १२ वटा पुल र ७ वडा सडक निर्माणको ठेक्का लागेकोमा समयमा काम सम्पन्न भएको छैन ।

शिवशक्ति निर्माण सेवा रौतहटले कुडिया पुल र मत्सरी, खापड बोर्डर सडकको काम सकेको छैन । एलएस विश्वन्त जेभी ब्रह्मपुरीले पनि गौर–पिपरा सडक, कुमालटोल–बसतपुर सडक, गम्हरिया, बाग्मती नदी, सिर्सिया, गौर, अडुवा नदी र टवरा सडक निर्माणको २०७४ मा ठेक्का सकारेर काम सकेको छैन । मैनाथपुर–७ हरकटवा हनुमान चोक सिर्सियाको सडक निर्माणका लागि २०७३ सालमा ठेक्का लिएको बनी निर्माण सेवा जनकपुरले पनि अहिलेसम्म काम सकेको छैन । निर्माणाधीन यी सबै पुल र सडकको काम कुनैको शून्य र कुनैको ६० प्रतिशत मात्र सकिएको छ ।

प्रकाशित : भाद्र २७, २०७९ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?