कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

बलात्कार प्रयास आरोपमा लहानका उपमेयर प्रहरी नियन्त्रणमा

भरत जर्घामगर

सिरहा — जागिरको प्रलोभन देखाई विवाहित महिलालाई बलात्कार प्रयास गरेको आरोपमा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आरोप लागेपछि फरार रहेका उपमेयर महतो शुक्रबार लहानस्थित प्रहरीकहाँ आफैं उपस्थित भएका हुन् ।

बलात्कार प्रयास आरोपमा लहानका उपमेयर प्रहरी नियन्त्रणमा

गत जेठ १९ गते जागिरको प्रलोभन देखाई २१ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको उनीमाथि आरोप लागेको थियो । ती महिलाले साउन ४ गते इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएकी थिइन् । जाहेरी परेको खबर पाएपछि उपप्रमुख महतो सम्पर्कविहीन भएका थिए ।

उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबर्जस्ती करणी प्रयास गरेको जाहेरीमा महिलाले उल्लेख गरेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले उपमेयर महतोलाई नियन्त्रणमा लिइएको र आइतबार म्याद थप गरेर आवश्यक अनुसन्धान अगाडि बढाउने जानकारी दिए ।

उपमेयर महतोले प्रहरीमा हाजिर हुँदै आफू निर्दोष रहेको र आफूलाई बदनाम गर्ने नियतले फसाउन खोजेको प्रतिक्रिया दिए । आफू भारतको तीर्थस्थलमा रहेको र त्यही बेला आफूमाथि नियोजित तरिकाले षड्यन्त्र भएको थाहा भएपछि निर्दोष सावित गर्न पनि तीर्थाटनबाट फर्केपछि प्रहरीमा हाजिर भएको उनले बताए ।

महतो गत स्थानीय तह निर्वाचनमा कांग्रेससँगको गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) बाट उपमेयरमा निर्वाचित भएका थिए । स्थानीय तहको निर्वाचनमा ३७ वर्षीय महतो १२ हजार ५ सय ६९ मत प्राप्त गरी नगर उपप्रमुखमा विजयी भएका थिए । गठबन्धनबाट कांग्रेसका महेश प्रसाद चौधरी २० हजार १ सय ५ मत ल्याई नगर प्रमुखमा विजयी भएका थिए ।

प्रकाशित : भाद्र २५, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?