१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

विद्यार्थी शून्य, हाजिर गरेर फर्किन्छन् शिक्षक

प्रधानाध्यापक भन्छन्– ‘तीन शैक्षिक सत्रदेखि अभिभावकले नै विद्यार्थी नपठाएपछि कामविहीन भएका छौं’
भरत जर्घामगर

सिरहा — विद्यालय भवन छ । स्थायी दरबन्दीमा तीन शिक्षक पनि छन् । तर, उनीहरूले पढाउनु पर्दैन, हरेक दिन हाजिर गरेर फर्किन्छन् । सिरहा नगरपालिका–९ स्थित आधारभुत विद्यालय गुलरियाको अवस्था हो यो ।

विद्यार्थी शून्य, हाजिर गरेर फर्किन्छन् शिक्षक

जिल्ला सदरमुकामनजिकैको यो विद्यालयमा पछिल्लो तीन शैक्षिक सत्रदेखि एक जना पनि विद्यार्थी भर्ना भएका छैनन् । प्रधानाध्यापक श्यामकुमार यादव निर्धक्क भन्छन्, ‘अभिभावकले नै विद्यार्थी नदिएपछि कामविहीन हुनुपरेको हो । हाजिरी गर्छौं, घर फर्किन्छौं ।’

२०७७ सालदेखि विद्यालय विद्यार्थीविहीन छ । नगरपालिकाले उक्त वर्ष शिक्षकको तलबभत्ता बाहेक छात्राछात्रवृत्तिबापत १८ हजार ४ सय, दलित छात्रवृति ४ हजार ४ सय, पाठ्यपुस्तक बापत १२ हजार ९ सय ८४ रुपैयाँ पठाएको थियो । २०७६ मा छात्रा छात्रवृत्तिबापत १३ हजार २ सय, दलित छात्रवृति १२ हजार र पाठ्यपुस्तक बापत १२ हजार ८ सय ४१ रुपैयाँ पठाएको थियो ।

विद्यालयको नाममा रकम पठाए पनि तलबबाहेक अरू खर्च नगरेको प्रधानाध्यापक यादवको दाबी छ । तीन शिक्षकका लागि मासिक १ लाख ५ हजार रुपैयाँभन्दा बढी भुक्तानी हुँदै आएको छ । विद्यालयमा प्रअ यादव र शिक्षकहरू भुवनेश्वर यादव तथा सावित्री शर्मा दरबन्दीमा कार्यरत छन् ।

पढाइ नभए पनि दरबन्दीका स्थायी शिक्षक भएकाले तलब भने बुझ्दै आएको प्रअ यादवले जानकारी दिए । ‘डिउटी गर्न खटिएका छौं, गाउँलेले बालबालिका नपठाएपछि बसेर तलब खानैपर्‍यो,’ उनले भने, ‘यसमा मेरो के दोष ? गाउँको बीचमा विद्यालय भएपनि कसैले विद्यार्थी पठाउँदैनन्, अनि हामीले कसलाई पढाउने ? यो वर्ष पनि चुनावका कारण विद्यार्थी भर्ना भएनन् । अबपनि चुनाव आउँदैछ विद्यार्थी कसरी भर्ना गर्ने ?’ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको सुनाए । विद्यालयमा २०७५ मा ४० विद्यार्थी थिए । कक्षा १ देखि ५ सम्म पढाई हुन्थ्यो । पहिला राम्रै संख्यामा विद्यार्थी भए पनि कोरोनाकालपछि आउनै छाडेको यादवको भनाइ छ । ‘विद्यार्थीलाई पढाइ चाहिएको थियो, हाम्रो विद्यालय कोरोनाकालमा बन्द भएपछि निजी विद्यालयमा गए,’ उनले भने, ‘त्यसपछि फर्केर आएनन् ।’

स्थानीय भने शिक्षकहरूले पढाउनेभन्दा पनि राजनीति गर्दा विद्यालय लथालिङ्ग भएको आरोप लगाउँछन् । स्थानीय अभिभावक वीरेन्द्र यादवले विद्यालयमा नियमित शिक्षक नआउने र आएपनि नपढाउने भएकाले निजी विद्यालयमा पठाएको बताए । ‘एक त विद्यालय नै आउनु हुन्न, आएपनि कक्षामा नगई कार्यालयमै बसेर गफ हाँकिरहेका हुन्छन्,’ उनले भने, ‘आज पढाई हुँदैन भनेर विद्यार्थीलाई घर पठाईदिन्थे ।’ विद्यार्थी भर्ना नभएपनि शिक्षकको तलब, छात्रवृत्ति, पाठ्यपुस्तकको रकम भने विद्यालयमा नियमित गईरहेको छ ।

तीन शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना नभएपनि सबै रकम गएको सिरहा नगरपालिकास्थित शिक्षा शाखाले जनाएको छ ।

पाँचजना शिक्षक रहेको यस विद्यालयमा विद्यार्थी भर्ना हुन छाडेपछि तीन जनाको अन्यत्र सरुवा गरिएको नगर शिक्षा शाखा प्रमुख काशिन्द्र यादवले जानकारी दिए । सावित्री शर्माको १० नम्वर वडामा अवस्थित दलित उत्थान आधारभुत विद्यालयमा सरुवा भए पनि उनी अपायक भन्दै गएकी छैनन् ।

विद्यालयको समस्या लामो समयदेखि रहेको र पटक–पटक सुधार गर्न खोजेपनि नसकिएको शिक्षा शाखा प्रमुख यादवले बताए । ‘अघिल्लो शिक्षा समितिले विद्यालय मर्ज गर्ने योजना बनाए पनि स्थानीयले नमानेपछि रोकिएको हो,’ उनले भने, ‘हामीले मर्ज गर्ने योजना बनाएका थियौं, स्थानीयले विद्यालय बन्द भएपछि नयाँ खोल्न फेरी समस्या हुन्छ भन्दै रोके ।’

नगरपालिकामा शिक्षा समिति गठन भइसकेकोले त्यस विद्यालयमा भएका सबै शिक्षकहरूलाई अन्यत्र पठाएर नयाँ शिक्षकको टिम ल्याएर विद्यालय सञ्चालन गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख यादवले जानकारी दिए ।

सोही नगरपालिकाको लक्ष्मीनियामा अवस्थित लक्ष्मी राष्ट्रिय आधारभूत विद्यालयमा समेत विद्यार्थी छैनन् । तर, प्रअ हरिनारायण यादव भने विद्यालयमा कार्यरत छन् । १ देखि कक्षा ३ सम्म पढाइ हुने विद्यालयका उनी दरबन्दीका स्थायी शिक्षक हुन् । विद्यालयमा गत वर्षदेखि नै एक जना विद्यार्थीको पनि नामांकन छैन ।

प्रकाशित : भाद्र २१, २०७९ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?