३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

तीजमा रमाउँदै मैथिल महिला

श्यामसुन्दर शशि

जनकपुर — नेपाली भाषी हिन्दु महिलाहरूको पर्वको रुपमा चिनिएको पर्व तीज सांस्कृतिक सीमा पार गर्दै मिथिलाञ्चलमा पनि लोकप्रिय हुन थालेको छ । अचेल मैथिल महिलाहरू श्रद्धा र भक्तिपूर्वक तीजमा उपवास बस्छन् । नेपाली भाषी दिदी बहिनीहरूसँगै कम्मर मर्काइ-मर्काइ नाच्ने गर्छन् । 

तीजमा रमाउँदै मैथिल महिला

‘ल है तीजै आयो...’ गीतको धुनमा छमछमी नाचिरहेकी महिलाको भिड मंगलबार जनकपुरको राममन्दिर, शिवमन्दिर, गंगासागरलगायत अधिकांश शिवमन्दिरहरूको वरिपरि देखियो । रातो परिहनमा सजिएकी; सिन्दुर, टिका र तिलहरि लगाएर कमर मर्काउनेहरूमध्ये अधिकांश भने मैथिल महिलाहरू थिइन् । रंगीचंगी वेशभूषामा सजिएकी महिलाहरूको चहल पहलले जनकपुर नगर क्षेत्रलाई आकर्षक बनाएको थियो ।

तीजको अवसरमा स्थानीय गणेश युवा कमिटी र श्रीराम युवा कमिटीलगायत संघसंस्थाहरूले तीज गीत गायन तथा नृत्य प्रतियोगिताको आयोजनासमेत गरेका छन् ।

तीजको अवसरमा हरितालिका तीजको कथा सुन्ने व्रतालुहरूको संख्या पनि त्यतिकै हुन्छ । शिवचौकस्थित शिवमन्दिर वरिपरि तथा गंगासागर, धनुषसागरको चारै डिलमा हरितालिका तीजको कथा सुन्नेहरूको भीड थियो । विधि-विधानअनुसार कथा सुन्नेमा नेपाली भाषी व्रतालुको संख्या पनि उल्लेख्य थियो ।

पण्डित राधेश्याम झाका अनुसार हरितालिका तीजको पूजा विधान पुरानो भए पनि मिथिलाञ्चलमा थोरै महिलाले मात्र कथा श्रवण गर्ने गरेका थिए । तर‚ पछिल्ला एक दशकदेखि मैथिल महिलाहरू पनि धुमधामका साथ तीज पर्व मनाउन र श्रद्धापूर्वक कथा श्रवण गर्न थालेका छन् ।

‘पर्व-त्यौहारहरुको सांस्कृतिक विस्तार नयाँ होइन । मैथिल नारीहरूले तीज मनाउन थालेजस्तै नेपाली भाषी दिदी-बहिनीहरू अचेल छठि मनाउँन थालेकी छन् । यो सांस्कृतिक मिलन हो; यसले आपसी एकता बढाउँछ ।’ हरितालिका व्रत कथा सुन्दै गरेकी मिथिला नाट्यकला परिषद्की उपाध्याक्ष सुनीता मण्डलले भनिन् ।

प्रकाशित : भाद्र १४, २०७९ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?