कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

वन कार्यालयनजिकैको सःमिलमा ठूलो परिमाणमा अवैध काठ बरामद 
 पक्राउ परेका सःमिल सञ्चालक फरार भएपछि भगाइएको आशंकामा ३ कर्मचारी निलम्बित
भरत जर्घा मगर

सिरहा — वन कर्मचारीकै मिलेमतोमा जंगल क्षेत्रबाट सिरहामा काठ तस्करी भइरहेको खुलेको छ । काठ मिल सञ्चालकसँग वन कर्मचारीको मिलेमतोमा रातारात बहुमूल्य खयर, सखुवा, सिसौलगायतका काठ तस्करी भइरहेको पाइएको हो ।

वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी

मिर्चैया नगरपालिका–९ कमलदहस्थित घुर्मी डाँडा सामुदायिक वन क्षेत्रमा गत बिहीबार राति ६६ थान खयरका रूख काटेर तस्करी भयो । यसबारे भोलिपल्ट बिहान स्थानीय हेमकुमार यादव, रामविलक्षण यादवले मिर्चैया र चोहर्वास्थित सवडिभिजन वन कार्यालयलाई खबर गरे । तर, दुवै कार्यालयले यसको वास्ता गरेनन् । सुनुवाइ नभएपछि वडाध्यक्ष दिनेश मण्डलसहित स्थानीयले लहानस्थित डिभिजन वन कार्यालयलाई खबर गरेर काठको खोजी गर्न थाले ।

गाउँले, लहानबाट आएका वन कर्मचारी, सशस्त्र प्रहरीसहितको टोलीले खोजी गर्दा चोहर्वास्थित सबडिभिजन वन कार्यालयदेखि डेढ किलोमिटर पश्चिममा गोलबजार नगरपालिका–९ घुर्मी खोला पुलछेउमा रहेको लक्ष्मीनारायण सःमिलबाट आलोकाँचो ६६ थान खयरका रूखबाट बिक्रीका लागि तयार गरिएको टुना बरामद गर्‍यो । सबडिभिजन कार्यालय चोहर्वा र सबडिभिजन कार्यालय मिर्चैयाका कर्मचारीले बेवास्ता गर्नु र कार्यालयनजिकै काठ बरामद हुनुले तस्करीमा वन कर्मचारीकै मिलेमतो रहेको स्थानीयको दाबी छ ।

‘खयरको रूख काटिएको खबर चोहर्वा र मिर्चैया सवडिभिजनका कर्मचारीले बेवास्ता गर्नुको कारण सःमिलमा काठ बरामद भएपछि खुल्यो,’ खबर गर्ने स्थानीयद्वय हेमकुमार र रामविलक्षणले भने, ‘ती कार्यालयबाट डेढ किलोमिटरभित्रै काठ बरामद हुनुले कर्मचारीकै सेटिङमा चोरीनिकासी भएको स्पष्ट हुन्छ ।’

६ वर्षदेखि उपभोक्ता समितिविहीन रहेको सामुदायिक वन क्षेत्रबाट अरु पनि बहुमूल्य काठ चोरी तस्करी भएको हुन सक्ने भन्दै स्थानीयले सःमिलमा खोजतलास गर्न माग गरेका छन् । ठूलो परिमाणमा काठ बरामद भएपछि डिभिजन वन कार्यालयले सहायक वन अधिकृत सत्यनारायण यादवलाई अनुसन्धान अधिकारी तोकेर छानबिन थालेको छ । मिलमा खोजतलास गर्ने क्रममा अहिलेसम्म ६६ थान खयरका तयारी टुनाबाहेक थप ९ सय ५५ थान खयरकै काँचो काठ टाँचा नलगाइएको अवस्थामा फेला परेको अनुसन्धान अधिकारी यादवले जानकारी दिए ।

‘अझै पनि मिलमा खोजीकार्य जारी छ । वन कर्मचारीले बिक्रीका लागि टाँचा नलगाएका बहुमूल्य प्रजातिका काठ बरामद भइरहेको छ,’ उनले भने, ‘सबडिभिजन वन कार्यालयनजिकै ठूलो परिमाणमा काठ भेटिनु शंकास्पद छ । अनुसन्धान जारी रहेकाले अहिले केही भन्न सकिने अवस्था छैन ।

मिर्चैया र चोहर्वास्थित सबडिभिजन कार्यालयले भने काठ तस्करीबारे अनभिज्ञता प्रकट गरे । चोहर्वा सबडिभिजन प्रमुख सहायक वन अधिकृत भोला रायले लक्ष्मीनारायण सःमिलमा खयर काठ ल्याएको बारेमा आफूहरूले थाहा नपाएको र स्थानीयले बरामद गरेपछि अनुसन्धान भइरहेको बताए ।

मिल सञ्चालक फरार

काठ बरामद भएपछि वनले सःमिलका सञ्चालक मदन ठाकुर र म्यानेजर श्रवण ठाकुरलाई पक्राउ गरेको थियो । तर, वन कर्मचारीले गाडीमा लहान ल्याउँदै गर्दा लहानस्थित बजरंग पेट्रोल पम्पनजिकबाट मिल सञ्चालक ठाकुर फरार भएको डिभिजन वन कार्यालयले जनाएको छ । म्यानेजर श्रवण भने वनको हिरासतमा छन् ।

सशस्त्र वन रक्षकको निगरानीमा ल्याउँदै गर्दा सञ्चालक ठाकुर फरार भएको घटनालाई शंकाष्पद भन्दै स्थानीयले उनलाई भगाइएको हुनसक्ने दाबी गरेका छन् ।

घटनाको विरोध गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई गुहार्दै विरोध जनाएका छन् । घटनालाई ढाकछोप गर्न लहानस्थित डिभिजन वन कार्यालयले सशस्त्र वन रक्षक रामवृक्ष मोची, जमदारहरू ब्रह्मदेव यादव र रामकुमार चौधरीलाई २ महिनाका लागि निलम्बन गरेको जनाएको छ । डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले लक्ष्मीनारायण सःमिलबाट ठूलो परिमाणमा खयरको काँचो काठ बरामद भएको र पक्राउ परेका मिल सञ्चालक ठाकुर फरार घटनामा संलग्न कर्मचारीलाई निलम्बन गरी अनुसन्धान भइरहेको पुष्टि गरे ।

चोरी निकासी तीव्र

काठ तस्करी हुने क्रम जिल्ला अन्य स्थानमा पनि व्यापक रहेको छ । तस्करीकै कारण जंगल मासिने क्रम बढेको स्थानीय बताउँछन् । जिल्लाका भदैया, ढोढना, विष्णुपुरकट्टी, बन्दीपुरलगायत नाकाबाट तस्करले चुरेक्षेत्रबाट काठ चोरी गरी निकासीको क्रमलाई तीव्र पारेका भदैयाका एक स्थानीयले बताए ।

‘चिरान साखुको काठ तस्करले रातको समयमा काधवरीयामार्फत लैजान्छन्,’ ती स्थानीयले भने, ‘यस्तो काठ लहान बजार र भारतीय सीमावर्ती बजारसम्म पुर्‍याउने गरिएको छ ।’

काठको चोरीनिकासी रोक्न स्थानीयले प्रयास गरे पनि तस्करहरूले ज्यान मार्ने धम्की दिने गरेको उनले सुनाए । तस्करहरूले चुरेक्षेत्रका अधिकांश सामुदायिक वन क्षेत्रबाट काठ ओसारपसार गरे पनि वन कार्यालयले केही गर्न सकेको छैन । तस्करीमा जिल्लास्थित भारतीय सीमा क्षेत्रका व्यक्ति बढी संलग्न रहने गरेका छन् ।

दैनिक गुजाराका लागि भन्दै दाउरा बिक्री गर्ने क्रम पनि बढेको छ । लहान बजारमा दिनहुँ सप्तरीका हर्दिया, दौलतपुर, कडोरवोना, बाहुना, कमलपुर र सिरहाका ढोढना, तरेगना गोविन्दपुरलगायत दर्जनभन्दा बढी गाउँका स्थानीयले चुरे वनबाट काटेर ल्याएको दाउरा ल्याई बिक्री गर्ने गरेका छन् ।

जिल्ला वन कार्यालयको तथ्यांकअनुसार सिरहामा २८ हजार १ सय ५५ दशमलव ९५ हेक्टर वन क्षेत्र छ । तीमध्ये १ सय ८ वटा सामुदायिक वन छन् । जिल्लामा एउटा मात्र धार्मिक वन (सलहेस फूलबारी) छ । १ सय २ वटा निजी वनका रूपमा दर्ता भएका छन् । ९ सय ९३ हेक्टर वन अतिक्रमणमा परेको छ ।

प्रकाशित : भाद्र १०, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?