२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मुआब्जा निर्धारणमा बदमासी भएको भन्दै रेल्वे कार्यालयअगाडि प्रदर्शन

श्यामसुन्दर शशि

जनकपुर — जनकपुर–जयनगर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत अधिग्रहण गरिएको जग्गाको मुआब्जा निर्धारणमा बदमासी भएको भन्दै महोत्तरी बर्दिबासका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

मुआब्जा निर्धारणमा बदमासी भएको भन्दै रेल्वे कार्यालयअगाडि प्रदर्शन

बिहीबार दिउँसो बर्दिबासका स्थानीयले जनकपुरस्थित नेपाल रेल्वेको केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् । सम्झौताअनुसारको मुआब्जा भुक्तानी नगरे कडा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।

‘छलफलका लागि पटक–पटक समय दिने अनि निर्धारित समयमा हाकिम नै नबस्ने प्रवृति देखियो । अब कडा आन्दोलन गर्नुको विकल्प रहेन । आइतबारदेखि आन्दोलनमा जान्छौँ,’ बर्दिबासका शंकर फुँयालले भने ।

यसअघि साउन १९ गते यी किसानहरु जनकपुर आई मुआब्जा विवाद सुल्झाउन रेल्वेका कार्यालय प्रमुख विनोद ओझालाई लिखित ध्यानाकर्षण गराएका थिए । तर ध्यानाकर्षण गराएको एक महिना बित्न लाग्दा पनि समस्या समाधान नभएको उनीहरूको आरोप छ ।

स्थानीय जग्गाधनी र रेल्वे कम्पनीबीच भएको सम्झौतामा पुरानो खोल्सी पैनीदेखि पश्चिमको जग्गाको मूल्यांकन प्रतिकठ्ठा १५ लाखको दरले गरिएको थियो तर १० लाख प्रतिकठ्ठाको दरलेमात्र भुक्तानी दिइएको स्थानीयले बताए ।

नेपाल रेल्वे कम्पनीका कर्मचारीले २०७५ साल भदौ २ गतेको जग्गा मूल्यांकन समितिको निर्णयअनुसार मुआब्जा वितरण हुँदै आएको बताउँदै आएका छन् ।

मूल्यांकन समितिले बर्दिबासस्थित नापी कार्यालय तथा स्थानीय सरोकारवालाहरुसँग विस्तृत राय सल्लाह गरी भिन्दाभिन्दै ३२ सूचकको आधारमा जग्गाको मुआब्जा निर्धारण गरेको रेल्वेको दाबी छ ।

प्रकाशित : भाद्र ९, २०७९ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?